नेपाल जेनजी फ्रन्टले झापाबाट ‘जागरण सभा’ अभियानको सुरुआत गर्दै



काठमाडौँ । सरकार र जेनजी आन्दोलनकारीबीच औपचारिक सम्झौता भएपछि सुरु भएको नयाँ चरणअन्तर्गत नेपाल जेनजी फ्रन्टले देशव्यापी रूपमा ‘जागरण सभा’ सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त अभियानको पहिलो कार्यक्रम झापा क्षेत्र नम्बर ५ बाट प्रारम्भ हुने भएको छ ।

आइतबारदेखि झापाको दमकमा आयोजना हुने जागरण सभामा नेपाल जेनजी फ्रन्ट (झापा) मुख्य आयोजक र अग्रगामी झापा–५ समूह स्थानीय आयोजकका रूपमा रहने जनाइएको छ ।

कार्यक्रममा स्थानीय तहमा जेनजी आन्दोलनमा सक्रिय अगुवाहरू, नागरिक समाजका प्रतिनिधि तथा राष्ट्रियस्तरमा आन्दोलनको नेतृत्व गर्दै आएका युवाहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको नेपाल जेनजी फ्रन्टका प्रदेश समन्वय समितिका सदस्य आदित्य कर्णले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा नेपाल जेनजी फ्रन्टका संयोजक रक्षा बम, सदस्य यतिष ओझा तथा काउन्सिल अफ जेनजीका प्रदेश नं १ संयोजक उपार्जुन चाम्लिङलगायत जेनजी आन्दोलनका अगुवाहरू वक्ताका रूपमा सहभागी हुनेछन् । ओझा झापा क्षेत्र नम्बर ५ का स्थायी बासिन्दा तथा मतदातासमेत हुन् ।

जागरण सभाको मुख्य उद्देश्य जेनजी आन्दोलनका माग र मर्मलाई देशभर विस्तार गर्नु, नागरिकसँग प्रत्यक्ष संवाद स्थापित गर्नु तथा सरकारसँग भएको सम्झौतापछिको कार्यान्वयनमा जनस्तरबाट निगरानी सुनिश्चित गर्नु रहेको कर्णले बताए ।

प्रतिक्रिया दिनुहोस्