आगलागीका घटनामा एक महिनामा ८ जनाको मृत्यु



काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसमका कारण आगलागीजन्य विपद्का घटना बढ्न सक्ने भन्दै त्यसको रोकथाम, प्रतिकार्य र पुनर्लाभका लागि तीनै तहका सरकारसँग आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।

प्राधिकरणले आज जारी गरेको सूचनामा राष्ट्रसङ्घीय निकाय, गैरसरकारी सङ्घसंस्था, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज तथा सञ्चार माध्यमलगायत सबै सरोकारवालालाई आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरेको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा भनिएको छ, “प्राधिकरणबाट जारी हुने पूर्वसूचना तथा ‘अलर्ट’को पालना गर्दै आवश्यक सतर्कता अपनाई नागरिक सुरक्षामा योगदान पुर्‍याउन आग्रह गर्दछौँ।”

प्राधिकरणका अनुसार पछिल्लो एक महिनाको अवधिमा देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा परी ८ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन्। सुक्खायाम र चिसो बढ्दै जाँदा आगलागीका घटना थप बढ्दै गएको जनाइएको छ।

विपद् जोखिम न्यूनीकरण बहुपक्षीय सहकार्य, समन्वय र सहभागिताबाट मात्र सम्भव हुने उल्लेख गर्दै प्राधिकरणले आगलागीजन्य विपद् रोकथाम तथा न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि आवश्यक रहेको जनाएको छ। त्यसका लागि लक्षित वर्ग, क्षेत्र र समुदायसम्म सचेतनामूलक श्रव्यदृश्य सामग्री पुर्‍याउनसमेत आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्