
काठमाडौँ । चीनको गाडी निर्माता कम्पनी जीली अटोले इजरायलमा आफ्नो पहिलो हाइब्रिड इन्धन कार सार्वजनिक गरेको छ । जीलीको आधिकारिक आयातकर्ता जियो मोबिलिटीका अनुसार उक्त कार बिहीबार इजरायल बजारमा सार्वजनिक गरिएको हो ।
नयाँ मोडल ‘जीली स्ट्रारी ईएम–आइ’ (चीनमा ‘जीली ग्यालेक्सी स्टारशिप ७’) प्लग–इन हाइब्रिड प्रविधिमा आधारित छ । यस कारमा पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटर दुवै समावेश छन् । केवल इलेक्ट्रिक मोडमा यसले ८३ किलोमिटरसम्म यात्रा गर्न सक्छ भने पेट्रोल र इलेक्ट्रिक दुवै प्रयोग गर्दा एकपटकको चार्ज र इन्धनमा ९४३ किलोमिटरसम्म दूरी तय गर्न सक्ने क्षमता रहेको छ ।
कारले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८ सेकेन्डमै लिन सक्छ । यसको अधिकतम गति १७० किलोमिटर प्रतिघण्टा रहेको छ ।
जीली अटोले सन् २०२१ को अन्त्यतिर इजरायल बजारमा प्रवेश गरेको हो । हाल जीलीको ब्रान्ड ‘जिक्र’ अन्तर्गतका तीनवटा इलेक्ट्रिक गाडी पनि इजरायलमा बिक्री हुँदै आएका छन् ।
यस वर्षका पहिलो ११ महिनाको तथ्यांकअनुसार चीनमा निर्मित पेट्रोल, हाइब्रिड तथा पूर्ण इलेक्ट्रिक गाडीहरू इजरायलमा सबैभन्दा बढी बिक्री भएका छन् । उक्त अवधिमा चिनियाँ गाडीको बिक्री संख्या ९६ हजार २०८ पुगेको छ ।





