जनविकास माध्यमिक विद्यालयको हीरकीय ६७औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, क्याम्पस विस्तारको दीर्घकालीन योजना सार्वजनिक



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ मा अवस्थित जनविकास माध्यमिक विद्यालयले आफ्नो हीरकीय ६७औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । डाँडापारि क्षेत्रमा स्थापना भएर निरन्तर शैक्षिक योगदान गरिरहेको यस विद्यालयले वार्षिकोत्सवकै अवसरमा नजिकैको भविष्यमै क्याम्पसको रूपमा विस्तार गर्ने दीर्घकालीन योजना सार्वजनिक गरेको हो ।

वि.स. २०१६ सालमा स्थापना भएको जनविकास माध्यमिक विद्यालय डाँडापारि क्षेत्रकै प्रतिष्ठित शिक्षालयका रूपमा परिचित छ । शैक्षिक उन्नति, भौतिक संरचना विस्तार, प्राविधिक शिक्षा र स्थानीय आवश्यकता समेट्दै अघि बढिरहेको विद्यालयको वार्षिकोत्सव स्थानीयवासी, अभिभावक, पूर्वविद्यार्थी र जनप्रतिनिधिको उल्लेखनीय उपस्थितिमाझ सम्पन्न भयो ।

नीति–निर्मातादेखि राष्ट्र–सेवकसम्म जन्माउने शिक्षालय

६७ वर्षे यात्रामा विद्यालयले नीति–निर्माणदेखि राष्ट्र–सेवासम्म योगदान पुर्‍याउने असंख्य व्यक्तित्व जन्माएको छ । विद्यालयमा अध्ययन गरेका अक्कल बहादुर थिङ संविधानसभा सदस्य बने भने इन्द्रबहादुर थिङ खानीखोला गाउँपालिकाका अध्यक्ष हुन् । त्यस्तै बागमती गाउँपालिका मकवानपुरका अध्यक्ष सर्केश घलान, हरिहरपुरगढी गाउँपालिका सिन्धुलीका अध्यक्ष बज्रध्वज वाईबा, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा तथा खानीखोला गाउँपालिकाका पूर्वअध्यक्ष कृष्ण बहादुर खुलाल पनि यस्तै पूर्वविद्यार्थी हुन् ।

पूर्वविद्यार्थी डा. लोकबहादुर लोप्चन हाल भाषा आयोगमा कार्यकारी सचिव रहेका छन् । यस्तै विभिन्न सरकारी सेवा, सुरक्षा निकाय तथा सामाजिक क्षेत्रमा सक्रिय थुप्रै व्यक्तित्व विद्यालयका उत्पाद हुन् ।

विशिष्ट अतिथि र उत्कृष्ट कार्यक्रम

कार्यक्रमका प्रमुख अतिथि पूर्वराज्यमन्त्री सूर्यमान दोङले विद्यालयलाई क्याम्पसमा रूपान्तरण गर्न आवश्यक सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा संविधानसभा सदस्य अक्कल बहादुर थिङ, विभिन्न पालिकाका अध्यक्षहरू तथा भाषा आयोगका कार्यकारी सचिव डा. लोप्चनसहित सरोकारवालाको उपस्थिति उल्लेख्य थियो ।

अतिथिहरूले कठिन भौगोलिक परिस्थितिमा समेत विद्यालयले उत्कृष्ट शैक्षिक सेवा दिँदै आएको प्रशंसा गर्दै यसको निरन्तर विकासका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।

बहुमुखी क्याम्पस स्थापनार्थ तदर्थ समिति गठन

कार्यक्रमकै अवसरमा बहुमुखी क्याम्पस स्थापना गर्न सात सदस्यीय तदर्थ समिति गठन गरिएको छ । वडाध्यक्ष बुद्धिबहादुर स्याङतान संयोजक रहनुभएको समितिमा उप–संयोजक प्रेमप्रकाश लामा तथा सदस्यहरू राजन अधिकारी, दैवलाल घिसिङ, अविरल जिम्बा, निर्मल लामा र प्रअ देशबहादुर वाईबा सदस्य–सचिव रहेका छन् ।

त्यसैगरी, क्याम्पस स्थापनार्थ सल्लाहकार समिति तथा संरक्षक समिति समेत बनाइएको छ । संरक्षकमा खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ र महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा रहेका छन् ।

२०८२ माघसम्म अक्षयकोष, २०८३ वैशाखमा दर्ता र सम्बन्धन

विद्यालय व्यवस्थापन समितिले क्याम्पस स्थापना योजनालाई तीव्रता दिने घोषणा गरेको छ । यसैअनुसार २०८२ माघ मसान्तसम्म अक्षयकोष निर्माणका लागि आर्थिक संकलन गर्ने र २०८३ वैशाखभित्र क्याम्पस दर्ता तथा सम्बन्धन प्राप्त गर्ने लक्ष्य सार्वजनिक गरिएको छ । प्रअ देशबहादुर वाईबाले सबैलाई सहयोगका लागि आग्रह गरे ।

सांस्कृतिक कार्यक्रम, सम्मान र स्मरणीय क्षणहरू

वार्षिकोत्सव विविध सांस्कृतिक प्रस्तुतिहरू, स्थानीय संस्कृतिलाई झल्काउने नृत्य–गीत, विद्यार्थी प्रतिभा प्रदर्शन तथा विद्यालयप्रति योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान वितरणसहित सम्पन्न भयो ।

पूर्वविद्यार्थीहरूले विद्यालयको शिक्षाले आफूहरूको करियर निर्माणमा निर्णायक भूमिका खेलेको स्मरण गरे । अभिभावकहरूले विद्यालयले पछिल्ला वर्षमा शैक्षिक गुणस्तर, सूचना–प्रविधि प्रयोग तथा प्राविधिक शिक्षामा दिएको जोडको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्