
सिरहा । नेपाल प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याइएको करिब १०० केजी प्रतिबन्धित मुङ्ग्री जातका माछा बरामद गरी नष्ट गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार सिरहाको गोलबजार–धनगढी सीमाक्षेत्रस्थित गागन खोलाबाट माछा नियन्त्रणमा लिएर नष्ट गरेको हो।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख, प्रहरी निरीक्षक सुदन केसीका अनुसार माछासँगै तस्करीमा प्रयोग गरिएको एक मोटरसाइकल पनि बरामद गरिएको छ। बरामद माछा गोलबजार–८ चोहर्वाका राजा सहनीको भएको प्रहरीले जनाएको छ।
स्थानीयका भनाइ अनुसार सहनीले दैनिक रूपमा करिब आधा दर्जन मोटरसाइकलमार्फत भारतबाट प्रतिबन्धित मुङ्ग्री र जलकपुर जातका माछा ल्याई लहान, धनगढी, गोलबजार, मिर्चैया, विष्णुपुर तथा सिरहा सदरमुकामका व्यापारीहरूलाई आपूर्ति गर्दै आएका थिए। उनले सीमा क्षेत्रका विभिन्न बाटो प्रयोग गरी तस्करी गर्दे आएको आरोप छ।
मानव स्वास्थ्यका लागि जोखिमयुक्त, अव्यवस्थित वातावरणमा हुर्काइने, रसायनको प्रयोग हुने सम्भावना तथा स्थानीय वातावरण र जलचर प्रणालीमा नकारात्मक असर पुर्याउने भएकाले नेपाल सरकारले मुङ्ग्री माछामा प्रतिबन्ध लगाएको हो।
प्रहरीका अनुसार बरामद माछा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा इलाका प्रहरी कार्यालय परिसरमै नष्ट गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिइएको छ।





