
तनहुँ । मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडार क्षेत्रमा लामो प्रतीक्षापछि कालोपत्र कार्य सुरु गरिएको छ। पहिरोको उच्च जोखिमका कारण यो भागमा पहिले कालोपत्र गर्न नसकिएको भए पनि जोखिम व्यवस्थापनपछि अहिले निर्माण कार्य अघि बढेको हो।
पहिरोका कारण सडकछेउमा बनेको पर्खाल भत्किएकोले काम रोकिएको थियो। पश्चिम खण्डअन्तर्गत तनहुँ भागमा दुबै तर्फ कालोपत्र गर्न बाँकी रहेकोमध्ये मौरीओडारमा पहिलो चरणको काम सुरु भएको सडक आयोजना प्रमुख कृष्णबहादुर कुँवरले बताए।
हाल दुई लेनमा कालोपत्र भइरहेको छ। पहिलो दुई लेन सकिएपछि अर्को दुई लेनमा काम अघि बढाइने छ। पश्चिम खण्डमा हालसम्म भौतिक प्रगत ५९.७६ प्रतिशत र वित्तीय प्रगत ४७.८० प्रतिशत पुगेको छ। ३८.८८ किलोमिटर दूरी रहेको खण्डमा ३७.४ किलोमिटरमा एकतर्फी पहिलो तहको कालोपत्र सकिएको छ। सोमध्ये २९.६१ किलोमिटर चार लेन र ७.७९ किलोमिटर दुई लेनको कालोपत्र पूरा भइसकेको छ।
सडक विकाससँगै १२ मध्ये ११ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने सेती नदीको पुल निर्माणाधीन छ। गत आर्थिक वर्षमा लक्ष्य गरिएको २५ किलोमिटर चार लेन सडकमध्ये २३.०६ किलोमिटर कालोपत्र सम्पन्न भएको छ। त्यस्तै, लक्ष्यअनुसार ११ वटै पुल निर्माण भइसकेका छन्।
कल्भर्ट तथा नाला निर्माण पनि अन्तिम चरणमा पुगेको छ। लक्ष्य गरिएको ६६ कल्भर्टमध्ये ६५ र ५१.५ किलोमिटर नालामध्ये ४५.२ किलोमिटर निर्माण सकिएको जानकारी कुँवरले दिए।
वि.सं. २०७८ जेठ ३ मा सम्झौता भएको यो खण्डको काम २०८२ पुस १६ गतेभित्र पूरा गर्ने लक्ष्य छ। करिब रु ७ अर्ब ४० करोड मूल्याङ्कनको यो ठेक्का एनहुई केयुएन हाईवे एन्ड ब्रिज कम्पनीले पाएको हो।





