पैसठ्ठी वर्षका ऐर : स्वाभिमान, मेहेनत र आत्मनिर्भर जीवनको प्रेरणादायी कथा



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारतर्फ बिहानै जानेको नजरमा छुट्न नसक्ने एउटा परिचित दृश्य छ— सडक छेउमा उभिएको सानो ठेला र त्यसलाई सम्हालेर बसेका करनबहादुर ऐर । पैसठ्ठी वर्ष पार गर्दै गरेका उनको आँखामा देखिने भाव थकान होइन, दैनिकी चलाउने गहिरो दृढता हो ।

उज्यालो फाट्नुअघि नै करिब चार किलोमिटर टाढाको घरबाट पैदलै हिँड्दै उनी झलारी बजार आइपुग्छन् । बजारका स्थानीयहरू उनलाई नामले भन्दा पनि ‘मेहेनती ऐर’ भनेर चिन्छन् । ठेलामा फलफूल, खेलौना, बिस्कुट, चाउचाउ, कुरकुरे, बदामजस्ता सामान्य सामान मात्र छन्, तर यही व्यवसायले ऐर परिवारलाई वर्षौँदेखि थामिरहेको छ । करिब रु २० हजार लगानीबाट सुरु गरिएको ठेलाले अहिले दैनिक झन्डै रु १ हजारदेखि १ हजार ५०० सम्मको आय दिइरहेको छ । सडक छेउमा रहँदा सवारीसाधनका चालक, परिचालकदेखि हिँडडुल गर्ने यात्रु नै उनका नियमित ग्राहक हुन् ।

“यसैको कमाइले घरखर्च, लत्ताकपडा, औषधोपचार सबै चल्छ,” ऐर भन्छन्, “पाखुरी चल्दासम्म अरूको भर पर्नु छैन । कमाइ जति हुन्छ, त्यसैबाट गुजारा हुन्छ ।” दुई छोराबुवा भए पनि ऐर दम्पती आजसम्म छोराहरूको आम्दानीमा निर्भर हुनुपरेको छैन ।

उमेर ढल्कँदै जाँदा धेरैले विश्राम खोज्छन्, सन्तानको भर पर्न मन गर्छ । तर ऐर भने आफ्नै पौरखको भरमा जीवन अगाडि बढाइरहेका छन् । उनको सबैभन्दा ठूलो साथी र कामको सहारा— उनकी श्रीमती । “दुई जनाले मिलेर चलाउँछौँ, यसैमा सहजै घर चल्छ,” उनी भन्छन् ।

व्यवसायी मात्र नभई ऐर झलारीका पुराना अगुवा पनि हुन् । उनले तत्कालीन झलारी गाउँविकास समितिका वडाध्यक्ष, नगरपालिका गठनपछि वडा सदस्य र असिग्राम माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । समुदायका लागि खर्चिएका उनका ऊर्जाशील वर्षहरू आज पनि स्थानीयले गर्वका साथ सम्झन्छन् । “समाजका लागि सकेजति गरेँ,” उनी भन्छन्, “अब बाँकी जीवनका लागि आफैँले केही गर्नुपर्छ ।”

उनको अनुशासन, समयपालन र ग्राहकसँगको विनम्र व्यवहारले बजारमा आउने जो–कोहीलाई आकर्षित गर्छ । धेरैले सम्मानले उनलाई ‘सभापति’ भनेर सम्बोधन गर्छन् । सभापतिज्यू भनेर बोलाउँदा उनी हल्का मुस्कानसहित भद्र तरिकाले जवाफ दिन्छन्, जसले सबैको मन जितेको छ ।

बजार सुस्ताउने बेला, आसपासका पसलमा बत्ती बल्न थाल्दाचाहिँ ऐरले आफ्नो दिनको काम अन्त्यतिर लैजान थाल्छन् । ठेलामा रहेका सामान नजिकैका पसलमा सुरक्षित राखेर मात्र उनी घर फर्किन्छन् । भोलिपल्ट फेरि त्यही यात्रा, त्यही मेहेनत ।

तर उनका कदम कहिल्यै थाक्दैनन्— किनकि उनको जीवनलाई चलाइरहेको शक्ति मेहेनत मात्र होइन, आत्मनिर्भर बनेर बाँच्ने अदम्य आत्मविश्वास पनि हो ।

प्रतिक्रिया दिनुहोस्