
काठमाडौँ । बुढानीलकण्ठ नगर अस्पतालले सेवा विस्तारसँगै दैनिक तीन सयभन्दा बढी बिरामीको उपचार गर्न थालेको छ । डेढ वर्षअघि जम्मा तीन जनाको उपचारबाट सेवा प्रारम्भ गरेको अस्पतालले अहिले बर्थिङ सेन्टर समेत सञ्चालनमा ल्याउँदै सेवाको दायरा थप व्यापक बनाएको छ।
नगरप्रमुख मीठाराम अधिकारीका अनुसार सुरुका दिनमा अस्पताल सञ्चालनमै शंका गर्नेहरू धेरै थिए । तर अहिले अस्पतालले २४ घण्टा आकस्मिक सेवा र बहिरङ्ग सेवा मार्फत दैनिक ठूलो संख्यामा बिरामीलाई उपचार प्रदान गर्दै आएको छ । “गत सोमबारदेखि बर्थिङ सेन्टर पनि सञ्चालनमा आएको छ,” प्रमुख अधिकारीले बताए ।
अस्पताल २०८१ वैशाखमा सञ्चालनमा आएको हो । संघ, प्रदेश र नगरपालिकाको आन्तरिक स्रोत प्रयोग गरेर यसको निर्माण र विस्तार अघि बढाइएको अधिकारीले जानकारी दिए । थप सेवाको लागि आवश्यक मेडिकल सामग्री खरिद प्रक्रिया पनि अघि बढाइएको छ ।
नगरकी उपप्रमुख अनिता लामाले बर्थिङ सेन्टर सञ्चालनले मातृ–शिशु स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् । “सहरी क्षेत्र भएकाले घरमै जन्म दिने चलन छैन । तर नगर अस्पतालमै सुरक्षित प्रसूति सेवा थपिएकोले मातृ–शिशु स्वास्थ्यमा अझ सुधार आउनेछ,” उनले भनिन्, “यो सामुदायिक स्वास्थ्य सेवामा एक महत्वपूर्ण उपलब्धि हो ।”
आम्दानीमा ठूलो वृद्धि
सेवा लिने बिरामीको संख्या बढेसँगै अस्पतालको आम्दानी उल्लेखनीय रूपमा वृद्धि भएको छ । गत आर्थिक वर्षमा अस्पतालले रु १ करोड १७ लाख आम्दानी गरेको थियो । प्रशासकीय अधिकृत गोपाल पोखरेलका अनुसार चालु आर्थिक वर्षका पाँच महिनामै आम्दानी रु १ करोड ८० लाख पुगेको छ ।
“सेवा बढेसँगै आम्दानी पनि वृद्धि हुँदै गएको छ, जसले अस्पताललाई आर्थिक रूपमा सक्षम बनाउन मद्दत गरिरहेको छ,” पोखरेलले बताए । उनका अनुसार अस्पतालमा हाल ७० जना कर्मचारी कार्यरत छन् । थप प्राविधिक जनशक्ति भर्ना गर्ने, सेवा विस्तार गर्ने र आवश्यक मेडिकल सामग्री खरिद गर्ने प्रक्रिया जारी छ ।





