ब्याटरले जिम्मेवारी नलिएपछि पराजय भोग्नुपर्‍यो : विराटनगरका मुख्य प्रशिक्षक धम्मिका



काठमाडौँ, २५ मङ्सिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगर किङ्ग्सलाई ४० रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

अब लुम्बिनीले मङ्सिर २७ गते हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ। यस सिजनमा नयाँ च्याम्पियन हुने पक्का बनेको छ, किनकि गत संस्करणको विजेता जनकपुर बोल्ट्स लिग चरणमै बाहिरिएको थियो।

तेस्रो स्थानमा रहँदै विराटनगर उपाधि होडबाट बाहिरिएको छ। १३५ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरको टोली ९४ रनमै समेटियो। खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै विराटनगरका मुख्य प्रशिक्षक धम्मिका प्रसादले ब्याटरहरूले जिम्मेवारीपूर्वक रन नबनाएकै कारण पराजय भोग्नुपरेको बताए। “लक्ष्य सहज थियो, तर ब्याटरहरूले एक सय रन समेत पार गर्न सकेनन्, यसको जिम्मेवारी उनीहरुकै हो,” उनको भनाइ थियो।

प्रसादका अनुसार लुम्बिनीलाई अधिकतम १२० रनमै रोक्ने योजना रहेको तर १४ रन बढी बनाइदिएपछि दबाब बढेको थियो। पावरप्लेबाटै विकेट गुमाउँदै जाँदा खेलने गतिदेखि नै असर परेको उनले बताए।

फाइनल पुगेपछि लुम्बिनीका ओपनर डार्सी सर्टले लिग चरणदेखि नै कठिन परिस्थितिबाट टीम अघि बढेको उल्लेख गरे। “लिगबाटै हरेक खेल जित्नैपर्ने दबाब थियो, अब फाइनल जितेर च्याम्पियन बन्न लक्ष्य राखेका छौँ,” सर्टले भने।

सुदूरपश्चिम र लुम्बिनीबीचको फाइनल खेल शनिबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्