
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग बिहीबार भेट गरी जय मातृभूमि पार्टीको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएको छ।
भेटका क्रममा पार्टीले आगामी निर्वाचन मात्र लक्षित नगरी सरकारले सुशासनलाई प्राथमिक एजेन्डा बनाई काम गर्नुपर्ने धारणा राख्यो। प्रतिनिधिमण्डलमा पार्टीका वरिष्ठ नेता क्याप्टेन केबी लिम्बू, सहअध्यक्ष रामशरण पाण्डे, महासचिव गोविन्द गिरीलगायत सहभागी थिए।
पार्टीले जेनजी आन्दोलनका नाममा भएका दमनकारी गतिविधि तथा भ्रष्टाचारमा संलग्न व्यक्तिमाथि छिटो कारबाही गर्न सरकारलाई आग्रह गरेको छ। साथै, वर्तमान सरकारको मूल उद्देश्य नै भ्रष्टाचारविरुद्धको कडा कदम भएकाले त्यसमा केन्द्रित रहनुपर्ने मागसमेत राखिएको थियो।
प्रधानमन्त्री कार्कीले पार्टी प्रतिनिधिसँग संवाद गर्दै आफ्ना एजेन्डा लिएर चुनावमा जान सुझाव दिइन्। उनले सरकार भ्रष्टाचारविरुद्धको कामलाई समानान्तर रूपमा अघि बढाइरहेको बताउँदै अब केवल भाषणले होइन, उत्पादनमूलक कार्यमा जोड दिनुपर्ने समय आएको उल्लेख गरिन्।
“युवामा वितृष्णा बढेको छ, आन्दोलन भए। अब फेरि आन्दोलन हुन नपरोस् भन्नेगरी काम गर्नुपर्छ,” उनले भनिन्, “तपाईंहरू पनि चुनावमा सहभागी हुनुहोस्, राम्रो काम गर्ने, आर्थिक समृद्धि र सुशासनका लागि प्रतिबद्ध सांसद जिताएर संसदमा पठाउनुहोस्।”





