
कैलाली । नेपाल खानेपानी संस्थान धनगढीले निजी तथा सार्वजनिक ग्राहकबाट उठ्न बाँकी बक्यौता रकम दुई करोड रुपैयाँभन्दा बढी रहेको जनाएको छ।
कार्यालयका लेखा शाखा प्रमुख पङ्कजकुमार दासका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्मका निजी र सरकारी गरी कुल १,०२९ ग्राहकबाट उठ्न बाँकी रकम रु २ करोड ३१ लाख २४ हजार २५० रहेको छ। यसमध्ये निजी ९८५ तथा सरकारी ४४ ग्राहक रहेका छन्।
सरकारी कार्यालयहरूबाट मात्र करिब रु ३२ लाख उठ्न बाँकी रहेको दासले जानकारी दिए। संस्थानले धनगढी उपमहानगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ८, ९, १०, ११, १२, १३, १४, १७ र १९ मा सेवा विस्तार गर्दै खानेपानी वितरण गरिरहेको छ। केही वडामा चालु आर्थिक वर्षदेखि वितरण प्रक्रिया अघि बढाइएको छ।
वि.सं. २०४६ मा स्थापना भएको धनगढी खानेपानी संस्थानले दैनिक १८–२० घण्टासम्म करिब १५ लाख एमएलडी पानी वितरण गर्दै आएको छ। हाल संस्थानका १० हजार ४५० सेवाग्राही छन्। सेवाग्राहीहरूले मासिक न्यूनतम रु ११० सेवा शुल्क तिर्ने व्यवस्था रहेको संस्थानले जनाएको छ।





