
काठमाडौं । थाइल्यान्डसँगको सीमा विवाद, अमेरिकी आयात शुल्क वृद्धि तथा सम्पत्ति बजारमा आएको मन्दीले कम्बोडियाको आर्थिक वृद्धिमा प्रत्यक्ष असर पुगेको विश्व बैंकको ताजा प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार सन् २०२४ मा ६ प्रतिशतले बढेको कम्बोडियाको अर्थतन्त्र सन् २०२५ मा घटेर ४.८ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ। सम्पत्ति क्षेत्र कमजोर भएपछि घरेलु माग र निर्माण गतिविधि सुस्त बनेका छन् भने सीमा तनावले श्रम बजार तथा पर्यटन क्षेत्र बाधित भएको प्रतिवेदनमा उल्लेख छ।
अगस्ट १ देखि संयुक्त राज्य अमेरिकाले कम्बोडियाबाट आयात हुने सबै प्रकारका वस्तुमा १९ प्रतिशत शुल्क लागू गरेपछि व्यापार क्षेत्रमा थप दबाब सिर्जना भएको विश्व बैंकले बताएको छ।
“कम्बोडिया हाल आन्तरिक तथा बाह्य दुबै चुनौतीहरूको दौरबाट गुज्रिरहेको छ,” विश्व बैंककी कन्ट्री म्यानेजर तानिया मेयरले टिप्पणी गर्दै आर्थिक स्थिरताका लागि व्यापार वातावरण सुधार गर्न, अनौपचारिक उद्यमलाई सहयोग गर्न तथा रोजगारीका अवसर बढाउन अपरिहार्य रहेको बताइन्।
प्रतिवेदनले कम्बोडियाको अन्तर्राष्ट्रिय भण्डार ७.५ महिनाको आयात धान्न पर्याप्त रहेको र सार्वजनिक ऋण कुल घरेलु उत्पादन (जीडीपी) को २६ प्रतिशतभन्दा कम रहेको विवरणसमेत प्रस्तुत गरेको छ।
यस वर्ष मुद्रास्फीति औसत २.७ प्रतिशत रहँदा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) २८.४ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले जनाएको छ।





