अमोरे सेवा नेपाल बालगृहको सेवा प्रचारमा अभाव : पूर्व मन्त्री गुरुङ



स्याङ्जा, २५ मंसिर ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–१ स्थित अमोरे सेवा नेपाल बालगृहको सेवामूलक कार्य पर्याप्त प्रचारप्रसार नहुँदा सबैमाझ परिचित हुन नसकेको पूर्व मन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन्। अभिभावकविहीन सडक बालबालिकाको आश्रयस्थल बनेको बालगृह अवलोकनका क्रममा उनले यस किसिमको मानवीय सेवामा चर्चा–प्रचारभन्दा कर्म नै महत्त्वपूर्ण हुने उल्लेख गरे।

बालगृह सञ्चालिका कमला पराजुलीलाई ‘राज्यभन्दा ठूलो अभिभावक’ भन्दै प्रशंसा गरेका पूर्व मन्त्री गुरुङले भने, “सहारा बिहीन बालबालिकाको अभिभावक बन्नु नै धर्म हो, धर्मका लागि अन्यत्र जानु पर्दैन।” उनले रुकुम भूकम्पमा अभिभावक गुमाएका पाँच बालबालिकालाई काठमाडौं ल्याई पठन–पाठनको पूरा जिम्मेवारी लिएको अनुभव पनि साझा गरे। त्यस्तै, स्याङ्जाकै विरुवा गाउँपालिकाका अभिभावकविहीन एक बालकलाई समेत काठमाडौंमा बसोबास र अध्ययनको व्यवस्था मिलाएको बताए।

गुरुङले बालबालिकाको उज्ज्वल भविष्य देशको सुन्दर भविष्यको आधार हुने बताउँदै यस्ता कार्यमा व्यक्तिगत प्रचार खोज्न नहुने धारणा व्यक्त गरे।

२०६८ सालदेखि वैदेशिक सहयोगबिना निरन्तर सञ्चालन हुँदै आएको बालगृहका ४६ बालबालिकाको दैनिक हेरचाह गर्दै आएकी सञ्चालिका पराजुलीले प्रचारप्रसारको अभावका कारण संस्थाले पर्याप्त सहयोगदाता आकर्षित गर्न नसकिरहेको बताइन्। “काम धेरै छ, बोल्न जानिँदैन। प्रचार नहुँदा सहयोगी हात जोडिन पाएन, जोडिएको भए बालगृह अझ व्यवस्थित बनाउन सकिन्थ्यो,” उनले भनिन्।

त्यस्तै, डा. मनोर सयदले पनि बालगृहका बालबालिकाका लागि वर्षमा एकचोटि भए पनि आफूले सक्दो सहयोग गर्दै आएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्