
काठमाडौं, मंसिर २५
दोस्रो ह्वाइटफिल्ड अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिप आगामी शनिबार खुसिबुस्थित ह्वाइटफिल्ड सेकेन्डरी स्कुलमा हुने भएको छ। युवा प्रतिभा विकास र प्रोत्साहनका उद्देश्यसहित एकदिने प्रतियोगिता आयोजित गर्न लागिएको विद्यालयले जानकारी दिएको छ।
करीब १५ विद्यालयका ६ सयभन्दा बढी खेलाडी सहभागी हुने छन्। प्रतियोगिता ‘ग्योरोगी’ (फाइट) र ‘स्पिड किक’ गरी दुई विधामा सञ्चालन हुनेछ। स्पिड किकमा सेतो–पहेलोदेखि कालो पेटीसम्म तीन समूहमा प्रतिस्पर्धा हुनेछ।
ग्योरोगीमा किड्स, चिल्ड्रेन, क्याडेट र जुनियर गरी दुबै सेक्समा ८० तौल समूह समावेश गरिएका छन्।
विद्यालयकी भाइस प्रिन्सिपल वर्षा श्रेष्ठले यस्ता प्रतियोगिताले विद्यार्थीको आत्मविश्वास र क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई ट्रफीद्वारा सम्मान गरिने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालनमा करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान छ।





