
काठमाडौं, मंसिर २५
रेडियन्ट पब्लिकले प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ। मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमीको कोर्टमा भएको फाइनलमा रेडियन्टले न्युटनलाई ५६–४३ ले पराजित गरेको हो।
टीमका सुप्रित लामिछाने र सुगम राना मगरले समान १६–१६ स्कोर गर्दै जितमा महत्वपूर्ण भूमिका खेले।

सुरुका दुई क्वाटरमा रेडियन्टले क्रमशः १४–११ र ९–४ को अग्रता बनायो। तेस्रो क्वाटरमा भने न्युटनले १७–१४ ले अघि बढ्दै अन्तर घटायो। अन्तिम क्वाटरमा १९–११ को स्पष्ट जीतसहित रेडियन्टले उपाधि सुनिश्चित गर्यो।
प्रतियोगितामा केभीसी तेस्रो भयो। उसले टीआईएलाई २८–११ ले पराजित गरेको हो। केभीसीका समर्पण नगरकोटीले ११ अंक जोडे।
शीर्ष चार स्थान हासिल गर्ने टोलीहरूले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
रेडियन्टका अमोसन मोक्तान ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए। न्युटनका उज्ज्वल श्रेष्ठ ६० स्कोरसहित सर्वाधिक स्कोरकर्ता बने।
विजेताहरूलाई केन्द्रीय प्याब्सनका सहअध्यक्ष गोपाल आचार्यलगायत पदाधिकारीहरूले पुरस्कार प्रदान गरेका थिए। चारदिने प्रतियोगितामा ३६ टोलीले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए। खेलहरू लालीगुराँस, एन्जल्स हार्ट र हिमरिश्म स्कुलमा सम्पन्न भएका थिए।





