नयाँ बसपार्कमा यात्रुलाई दुःख दिएवापत ४६ जना पक्राउ



काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा यात्रुको झोला तानेर हैरान पार्ने तथा विभिन्न शंकास्पद क्रियाकलापमा संलग्न रहेका ४६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा प्रहरी प्रभाग नयाँ बसपार्कको संयुक्त टोलीले बुधबार साँझ गोँगबुस्थित बसपार्क क्षेत्रमा सक्रिय ट्याक्सी चालक, होटल सञ्चालक र होटलका कर्मचारीसहित ४६ जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार देशका विभिन्न भागबाट राजधानी आएका यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख दिने गतिविधि दोहोरिन थालेपछि प्रहरीले कडा निगरानी बढाएको थियो।

“पहिलो चरणमा सम्झाइबुझाइ गरेर छाड्नेसमेत व्यवस्था गरिएको थियो, तर घटना दोहोरिन थालेपछि नियन्त्रणमा लिनुपरेको हो,” एसपी भट्टराईले बताए। उनका अनुसार यस्तो गतिविधि रोक्न प्रहरीले अभियानलाई निरन्तर रुपमा सञ्चालन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्