पुस १ गतेदेखि देशभर बाघ गणना सुरु हुने



चितवन । आगामी पुस १ गतेदेखि बाघ गणनाको राष्ट्रिय अभियान सुरु हुँदैछ। चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ‘ब्लक’ बनाएर गणना थालिने तयारी भएको छ। यस्तै, बाघ पाइने बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि एकसाथ गणना चलाइनेछ।

यो प्रक्रिया तीन महिना निरन्तर चल्नेछ। सरकारले प्रत्येक चार वर्षमा बाघ गणना गर्दै आएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पुस १ र २ गते गणनामा खटिनेलाई तालिम दिन तयारी पूरा भइसकेको छ। तालिममा निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवी, विद्यार्थी तथा संरक्षण क्षेत्रमा कार्यरत साझेदारहरू सहभागी हुनेछन्। करिब १५० जनाले तालिम लिएर गणनामा खटिने थापा मगरले जानकारी दिए।

पुस ३ गतेदेखि तालिम प्राप्त टोलीहरू क्षेत्रमै परिचालन गरिनेछ। चितवन र पर्सा निकुञ्जमा गरी नौ सय ग्रिड बनाइएका छन्। प्रत्येक दुई वर्ग किलोमिटर क्षेत्रलाई एक ग्रिड मानिने छ। दुवै निकुञ्जलाई तीन–तीन भागमा विभाजन गरी हरेक भागमा २० दिनसम्म क्यामेरा ट्र्याप राखिनेछ। एक भागमा ३०० ग्रिड रहनेछन्, र प्रत्येक ग्रिडमा २० दिनका लागि क्यामेरा जडान गरिनेछ। गणनाका प्राविधिक टोली ग्रिडहरूको सीमामा क्याम्प बनाएर बस्नेछन्।

थापा मगरका अनुसार भूगोलअनुसार राखिएका क्यामेराहरू दैनिक अनुगमन गरिनेछ। क्यामेरा हटाइएपछि डेटा विश्लेषण सुरु हुनेछ। बाघ बढी आवतजावत गर्ने स्थानमा स्वचालित क्यामेरा राखिनेछ, जसले तस्बिर खिचेर पहिचानमा सहयोग पुर्‍याउँछ। बाघका शरीरमा देखिने पाटा–ढाँचाका आधारमा तिनीहरूको सङ्ख्या छुट्याइनेछ, किनभने प्रत्येक बाघको पाटा अद्वितीय हुन्छ।

बाघ गणनाको पहिलो कम्प्लेक्स चितवन–पर्सा हो। दोस्रो कम्प्लेक्समा बाँके र बर्दिया रहनेछन्, जसमा तीनवटा ब्लक रहनेछन्। तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा लालझण्डी हो, जसलाई एउटै ब्लकका रूपमा गणना गरिनेछ।

सन् २०२२ मा भएको बाघ गणनामा नेपालमा ३३५ वयस्क बाघ भेटिएका थिए। सोमध्ये चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ फेला परेका थिए। बाघ गणना सकिएपछि गैँडा गणना गर्ने तयारी पनि अगाडि बढाइएको छ। बजेट अभावका कारण गतवर्ष रोकिएको गैँडा गणना यस वर्ष नयाँ विधिबाट गर्न निकुञ्ज विभाग तयारीमा लागेको छ।

प्रतिक्रिया दिनुहोस्