किसानबाट एक करोड ४४ लाख बढीको धान खरिद



दाङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले यस वर्ष दाङको देउखुरी क्षेत्रका तीन palika का किसानबाट पाँच हजार क्विन्टल धान खरिद गरेको छ। कार्यालय प्रमुख तुलमाया लोवाका अनुसार लमही, गढवा र राप्ती गाउँपालिकाका २१२ जना किसानले उत्पादन गरेको धान खरिद गरिएको हो।

खरिद गरिएको धानको कुल मूल्य रु १ करोड ४४ लाख ८९ हजार ८०० पुगेको कार्यालयले जनाएको छ। सहमतिअनुसार गढवाबाट २ हजार क्विन्टल, लमही र राप्ती गाउँपालिकाबाट १ हजार ५०० क्विन्टलका दरले धान खरिद गरिएको हो।

सरकारले तोकेअनुसार प्रतिक्विन्टल रु ३ हजार ४६३ का दरले मोटो धान खरिद गरिएको खाद्य कार्यालयका सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिए। एक किसानबाट ४० क्विन्टलसम्म धान खरिद गर्ने व्यवस्था भए पनि धेरै किसानलाई समेट्न प्रतिकिसान १५ देखि २० क्विन्टलका दरले धान खरिद गरिएको उनले बताए।

गत वर्ष जिल्लाबाट ८ हजार क्विन्टल धान खरिद गर्ने कोटा पाएकोमा लक्ष्य पूरा नहुँदा यस वर्ष केन्द्रले कोटा घटाएको कार्यालयले जनाएको छ।

यसैबीच, दाङमा यस वर्ष १ लाख ८६ हजार ५३ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिए। यो उत्पादन गत वर्षको तुलनामा ३.०६२ प्रतिशतले बढी हो।

प्रतिक्रिया दिनुहोस्