
दैलेख । दीर्घकालीन खानेपानी अभाव झेल्दै आएका भगवतीमाई गाउँपालिकाका तीन वडामा चार खानेपानी योजना सम्पन्न भई स्थानीयवासीले नियमित स्वच्छ पानी पाउन थालेका छन्। यससँगै वडा नं. १, ३ र ४ का करिब १९६ घरधुरीका १,१८४ जनाले ‘एक घर–एक धारा’ सुविधाबाट प्रत्यक्ष लाभ लिएका छन्।
ब्रिटिस रेडक्रस र स्वीस रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाले गाउँपालिकासँगको साझेदारीमा सञ्चालन गरेको ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजना’मार्फत खानेपानी सुविधा विस्तार गरिएको हो।
वडा नं. ३ का वडाध्यक्ष मानबहादुर खड्काले अब पानीका लागि टाढा–टाढा धाउन नपर्ने खुसी व्यक्त गरे। दूषित पानीका कारण स्वास्थ्य समस्यामा पर्ने अवस्था अन्त्य भएको उनले बताए। भक्रमुल सिस्नेरी खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएपछि वडाका ९४ घरधुरीमा घर–घरमा धारा जडान गरिएको छ। यसले विशेष गरी अति विपन्न समुदायलाई सुरक्षित पानीको पहुँच सुनिश्चित गरिदिएको छ।
परियोजनाले उपभोक्तालाई धारा र पानीका मुहान दर्ता गर्न सहजीकरण गरेको छ भने निर्माण सम्पन्न योजनाहरूले नियमित पानी महसुल संकलन, खानेपानी सुरक्षायोजना लागू र कार्यालय व्यवस्थापन प्रणाली अवलम्बनमा ल्याएका छन्।
योजना अन्तर्गत ती वडाका २४ अति विपन्न परिवारलाई शौचालय निर्माणका लागि सहयोग गरिनुका साथै विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता पूर्वाधार निर्माण गरिएको छ। साथै, गाउँपालिका कार्यालय र ६ स्वास्थ्य संस्थामा पानीको गुणस्तर परीक्षण केन्द्र पनि स्थापना गरिएको छ।
वडा नं. १ का वडाध्यक्ष मानबहादुर खड्काले खानेपानी तथा सरसफाइ योजनासँगै फोहर सङ्कलन तथा व्यवस्थापन केन्द्र सञ्चालनमा आएको जानकारी दिए। उनले परियोजनाले विपन्न परिवारका लागि पुर्याएको सहयोगलाई महत्वपूर्ण बताए।
वडा नं. ४ का वडाध्यक्ष देवलोक अधिकारीले खानेपानी व्यवस्थापनसँगै महिलाको समय बचत भएको उल्लेख गरे। नेपाल रेडक्रसले स्वास्थ्य आमा समूह, विद्यालय तथा समुदायमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी कार्यक्रमले सचेतना बढेको बताए।
नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति निरञ्जन खत्रीले सुरक्षित सुत्केरी, पारिवारिक विपद् पूर्वतयारी, सुरक्षित चर्पी प्रयोग र पिउने पानीको उचित व्यवस्थापनका लागि ६३ जना तालिमप्राप्त स्वयंसेवक परिचालन गरिएको जानकारी दिए।
परियोजनाका जिल्ला संयोजक शैलेश श्रेष्ठका अनुसार पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्न वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सक्रिय रूपमा परिचालित गरिएको छ। विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलनका लागि ६६ जनालाई आधारभूत प्राथमिक उपचार तालिम, ५८ जनालाई सामुदायिक विपद् प्रतिकार्य तथा खोज–उद्धार तालिम, २४ जनालाई द्रुत प्रतिकार्य तालिम प्रदान गरिएको छ।
यसबाहेक स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रका लागि आवश्यक सामग्री हस्तान्तरण, विपद्सँग सम्बन्धित कृत्रिम अभ्यास कार्यक्रम, विद्यालय–समुदायमा वातावरण, जलवायु परिवर्तन तथा जोखिम न्यूनीकरणबारे छलफल र अभिमुखीकरण कार्यक्रमहरू पनि सञ्चालन गरिएको उनले जानकारी दिए।





