मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन सुरु



मुस्ताङ । मुस्ताङका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा सक्रिय देखिएका छन् । गुणस्तरीय स्याउ उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित बगैँचा व्यवस्थापन अनिवार्य भएपछि किसानको व्यस्तता बढेको हो ।

यस वर्ष मुस्ताङमा विगतका वर्षभन्दा चाँडै बगैँचा व्यवस्थापन सुरु गरिएको कृषि कार्यालयले जनाएको छ । भदौदेखि कात्तिकसम्म ‘पोस्टहार्भेस्ट’ प्रक्रिया पूरा भएपछि स्याउका बोटका पात झरी बगैँचा उजाडजस्तै बनेका छन् । जमिनको तापक्रम नघटेकाले यस वर्ष पात छिट्टै सुकेको किसानको भनाइ छ ।

सामान्यतया पुस–माघमा हुने व्यवस्थापन यस वर्ष पात झरिसकेपछि अघि सारिएको घरपझोङका किसान दिवश थापाले बताए । उनका अनुसार जाडो मौसममा किसानले आफूलाई अनुकूल समय निकालेर बगैँचाको काँटछाँट, मलजल, सिँचाइ तथा रोगकिरा नियन्त्रणका काम गर्दै आएका छन् ।

किसान थापाका अनुसार बगैँचा व्यवस्थापनको पहिलो प्राथमिकता स्याउका बोटमा उपयुक्त काँटछाँट गर्नु हो । सूर्यको प्रकाश सबै हाँगाबिगामा समान रूपमा पर्ने, चारैतिर हावा पुग्ने व्यवस्था भएमा गुणस्तरीय उत्पादन पाउन सहज हुने उनले बताए । अनावश्यक हाँगा–बिगा तथा पातले उत्पादनमा नकारात्मक प्रभाव पार्ने भएकाले छाँटछुट अनिवार्य मानिन्छ । जलवायु परिवर्तनका कारण तापक्रम नघट्दा हार्भेस्टपछि पात छिट्टै झर्ने क्रम बढेको उनले बताए ।

व्यवस्थापन अवधिमा किसानले मलजल, सिँचाइ, ‘बोरोपेस्ट’ र ‘बोरोमिक्चर’ छर्कनेजस्ता काममा व्यस्त रहने गरेको थापाले जानकारी दिए । समयमै उचित व्यवस्थापन नगरे अपेक्षित गुणस्तरको स्याउ उत्पादन नहुने उनको भनाइ छ । उनले हिउँदयामको हिउँ स्याउखेतीका लागि अत्यन्त महत्वपूर्ण रहने उल्लेख गर्दै हिउँले जमिनको उर्वरा शक्ति बढाउने, भित्री तहसम्म सिँचाइ पुग्ने र रोगकिरा नियन्त्रणमा सहयोग गर्ने बताए । पछिल्ला वर्षमा मौसम अनुकूल नहुँदा प्राकृतिक सिँचाइका विकल्प खोज्नुपर्ने बाध्यता बढेको उनले उल्लेख गरे ।

जिल्लाको तल्लो क्षेत्रका पालिकामा व्यवस्थापन सुरु भए पनि माथिल्लो क्षेत्रमा पुस १५ देखि माघ मसान्तसम्म बगैँचा व्यवस्थापन गरिने कृषि तथा पशु विकास कार्यालयका प्रमुख राजेश गुरुङले जानकारी दिए । उच्च भेगमा तापक्रम अत्यधिक घट्ने भएकाले पात पूर्ण रूपमा झर्न समय लाग्ने र त्यसअनुसार व्यवस्थापन ढिलो हुने उनले बताए ।

गुरुङका अनुसार हार्भेस्ट सकिएकाले हाल बगैँचा व्यवस्थापन प्रमुख कार्य मानिएको छ । बोटका अनावश्यक हाँगा काट्ने, रोगकिरा नियन्त्रणका लागि सुक्ष्म खाद्य तत्व तथा बोरोपेस्ट–बोरोमिक्चर छर्कनेजस्ता विधि अपनाउनुपर्ने उनले बताए । बोटबाट झरेका पात एकीकृत गरी मलका रूपमा प्रयोग गर्न सकिने उनले उल्लेख गरे । “गुणस्तर र उत्पादन वृद्धि गर्न व्यवस्थापनका सबै मापदण्ड पूरा गर्नु आवश्यक छ,” गुरुङले भने ।

कार्यालयले स्थानीय तहका कृषि प्राविधिक तथा सरोकारवालाहरूलाई लक्षित गरी तीनदिने सैद्धान्तिक तथा व्यवहारिक तालिम सञ्चालन गरिरहेको समेत उनले जानकारी दिए । हिउँदयाममा स्याउका बोट सुषुप्त अवस्थामा रहने भएकाले यही समयमा गरिएको व्यवस्थापन बढी प्रभावकारी हुने गुरुङकाे सुझाव छ ।

यस वर्ष मुस्ताङमा स्याउ उत्पादन केही कमी देखिए पनि उचित मूल्य पाएपछि किसानको आम्दानी भने बढेको कार्यालयले जनाएको छ । जिल्ला कृषि तथा पशु विकास कार्यालयका अनुसार यस वर्ष ६ हजार ७८ मेट्रिकटन स्थानीय स्याउ र १ हजार २५० मेट्रिकटन हाइब्रिड स्याउ उत्पादन भएको छ ।

प्रतिक्रिया दिनुहोस्