
थाइल्यान्ड । कम्बोडियासँग बढ्दो सीमा विवादका कारण थाइल्यान्डका चार लाखभन्दा बढी बासिन्दा सुरक्षित स्थानतर्फ सारिएको थाई रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीका अनुसार बुधबार बिहानबाट तीव्र भएको आक्रमणका कारण प्रभावित प्रान्तका नागरिकलाई तत्काल आश्रय स्थल खाली गराउनुपरेको हो।
थाइल्यान्डको आर्मी एरिया कमान्डले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै बुधबार स्थानीय समयानुसार बिहान ५ः०० बजेदेखि बुरिराम, सुरिन, सिसाकेट र उबोन रत्चथानीका सीमाक्षेत्रमा आक्रमण भएको उल्लेख गरेको छ। हालसम्म कुनै मानवीय क्षति नदेखिएको समेत पुष्टि गरिएको छ।
विज्ञप्तिअनुसार बिहान ८ः४० मा कम्बोडियन पक्षले प्रहार गरेको बीएम–२१ रकेट सुरिन प्रान्तस्थित एक अस्पताल नजिक खसेपछि त्यहाँका बिरामी र स्वास्थ्यकर्मीलाई तत्काल सुरक्षित स्थानमा सारिएको थियो।
थाई मिडियाका अनुसार निरन्तर भइरहेका सीमा झडपका कारण सीमावर्ती प्रान्तका ८०० भन्दा बढी विद्यालय र धेरै अस्पताल अस्थायी रूपमा बन्द गर्नुपरेको छ।
आइतबार दिउँसोदेखि पुनः चर्किएको कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वमा दुवै पक्षले एकअर्कामाथि आक्रमण सुरु गरेको आरोप लगाउँदै आएका छन्।





