
चितवन । चितवन तथा आसपासका जिल्लामा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ (CAV) को संक्रमण फेला परेको छ। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनमा ५४ प्रतिशत कुखुरामा यो भाइरस भेटिएको हो।
प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवनसहित विभिन्न जिल्लाबाट पठाइएका १८२ नमूनामध्ये ५४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। जिल्लामा पहिलोपटक गत आर्थिक वर्षमा यो रोग देखा परेपछि विस्तृत अध्ययन थालिएको र त्यस क्रममा चितवन, मकवानपुर तथा नवलपरासीका नमूनामा पनि संक्रमण भेटिएको उनले जानकारी दिए।
यो भाइरसले कुखुराको प्रतिरोधात्मक क्षमता कमजोर बनाउने भएकाले अन्य रोगप्रति कुखुरा अझै संवेदनशील बन्ने डा. श्रेष्ठको भनाइ छ। “प्रत्यक्ष असर धेरै नदेखिए पनि उत्पादनमा कमी आउँदा किसानलाई आर्थिक नोक्सान पुग्ने जोखिम हुन्छ,” उनले भने।
संक्रमित कुखुरामा रक्तअल्पता हुने, तौल नबढ्ने र उत्पादन घट्ने जस्ता लक्षण देखिने गरिएको छ। चालचलन सामान्य देखिए पनि यसले दीर्घकालीन असर पार्ने भएकाले रोगलाई बेवास्ता गर्न नहुने डा. श्रेष्ठले चेतावनी दिए।
रोग नियन्त्रणका लागि चिकेन एनेमिया भाइरसविरुद्धको खोप अनिवार्य रूपमा दिनुपर्ने उनको सुझाव छ। ब्रोइलर तथा लेयर दुवै जातका कुखुराका माउ र चल्लामा यो खोप आवश्यक पर्ने जनाइएको छ।
चितवनसहित १६ जिल्लाबाट संकलित नमूनाको परीक्षण प्रयोगशालामा हुँदै आएको छ। जैविक सुरक्षाको कमीका कारण संक्रमण फैलिने गरेको बताइएको छ। अहिले कुखुरामा इन्फ्लुएन्जाको एच–९ को जोखिम समेत रहेको हुँदा किसानलाई थप सतर्कता अपनाउन आग्रह गरिएको छ।
फार्ममा दाना, पानी, औषधि, भूषालगायत सामग्री ल्याउँदा तथा अण्डा बाहिर पठाउँदा जैविक सुरक्षाको कडाइपूर्वक पालना गर्न विशेषज्ञहरूको सुझाव छ। बजारमा उपलब्ध निःसङ्क्रमण औषधिको प्रयोग गरी फार्ममा प्रवेश गर्ने व्यक्ति तथा सवारी साधनको अनिवार्य निःसङ्क्रमण गर्नुपर्ने बताइएको छ।





