
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो सिजन फाइनल पुगेको सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । पराजित विराटनगरले अब दोस्रो क्वालिफायरमार्फत फाइनलमा पुग्ने अन्तिम मौका पाउनेछ ।
खेलपछि विराटनगर किंग्सका निर्देशक दीपेन्द्र चौधरीले कमजोर प्रदर्शनकै कारण टिम पराजित भएको बताए । उनका अनुसार, ‘अस्ति हाम्रो दिन थियो, आज सुदूरपश्चिमको दिन रह्यो । ब्याटिङमा हामी चल्न सकेनौँ, त्यसकै असर परिणाममा देखियो ।’ उनले सुदूरपश्चिमविरुद्धको खेलमा देखिएका कमजोरी सुधारेर अर्को मौका राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
उता, सुदूरपश्चिमका विदेशी खेलाडी स्कट कुगेलेइनले यसपटक उपाधि हात पार्ने दाबी गरे । उनले भने, ‘लगातार दोस्रो पटक फाइनल पुगेका छौँ । यसपालि उपाधि सुदूरपश्चिमले नै जित्छ भन्ने हाम्रो विश्वास छ ।’





