
बागलुङ । यस वर्ष बागलुङमा धान उत्पादन उल्लेख्य रूपमा बढेको छ। समयमा वर्षा हुनु र रोगको प्रकोप कम देखिनुले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रका अनुसार छ।
कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी प्रतिभा शर्माका अनुसार गत वर्षको तुलनामा यस वर्ष ८४.४ मेट्रिकटनले उत्पादन बढेर कुल २० हजार ७८४.४ मेट्रिकटन पुगेको छ। अघिल्लो वर्ष २० हजार मेट्रिकटन धान उत्पादन भएको थियो।
शर्माका अनुसार गत वर्ष रोपाइँपछि धानमा जरा कुहिने रोग फैलिएकाले उत्पादनमा गिरावट आएको थियो। यस वर्ष रोगको प्रकोप कम देखिएको र वर्षा पनि समयमै भएकाले उत्पादन सुधारिएको हो। बागलुङ हाल धान उत्पादनमा आत्मनिर्भर भने छैन। यहाँका किसानले खुमल–४, जेठो बुढो, लुम्ले–२, झिनुवा, खुमल–११, खुमल बासमती–१०, मार्सी, जडन लगायतका जात लगाउने गरेको र पछिल्लो समय हाइब्रिड जातप्रति आकर्षण बढिरहेको शर्मा बताउँछिन्।
“धान खेती प्रति किसानको चासो लगातार बढ्दो छ। गत वर्षको तुलनामा झण्डै १०० मेट्रिकटन उत्पादन वृद्धि भएको छ। वर्षा समयमै हुनु र रोगको कम प्रकोप नै मुख्य कारण हुन्,” उनले भनिन्।
जिल्लाको पश्चिम गलकोट, रेशा, सिगाना, जैदी, छिस्ती लगायत केही क्षेत्र बाहेक धेरै ठाउँहरूमा सिँचाइ सुविधाको अभाव छ। यद्यपि यस वर्ष धान भित्र्याउने समयमा ठूलो वर्षा भएको भए पनि उत्पादनमा असर नपरेको किसानहरूको भनाइ छ।
गलकोट नगरपालिका–६ का किसान कृष्ण खत्रीले यस वर्ष अघिल्लो वर्षभन्दा झण्डै तीन मुरी बढी धान उत्पादन भएको बताए। जैमिनी नगरपालिका–७ का नरेन्द्र पौडेलले पनि गत वर्ष १३ मुरी फलेको खेतमा यस वर्ष १६ मुरी धान उत्पादन भएको अनुभव साझा गरे। गत वर्ष ढिलो वर्षा भएकाले सिँचाइ गर्न नपाएको तर यस वर्ष त्यस्तो समस्या नरहेको उनीहरूको भनाइ छ।
बागलुङमा ४६ हजार १४८ हेक्टर खेतीयोग्य जमिनमध्ये ३० हजार ५२३ हेक्टरमा मात्र खेती भइरहेको छ। तीमध्ये ६ हजार १४८ हेक्टरमा मात्र सिँचाइ सुविधा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।





