नेवारी सडक खाना महोत्सव तथा योःमरी उत्सव सुरू




दाङ, मंसिर २३ ।

तुलसीपुर उपमहानगरपालिकाको गेट नजिकै विशेष नेवारी सडक खाना तथा योःमरी उत्सव भव्य रूपमा सुरु भएको छ। नेवारी खानाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित नेवा देय दवु तुलसीपुर र ‘नेवाः मिसा दवु’को संयुक्त आयोजनामा आज (मंगलबार)देखि सुरु भएको महोत्सव मंसिर २९ गतेसम्म चल्नेछ।

दैनिक दिउँसो ३ बजेदेखि बेलुका ७ बजे सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न परम्परागत नेवारी परिकार प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्। सम्य बजि सेट, यःमरी (चाकुसहित), यःमरी खोवा, सेलरोटी, अण्डा बारा, जुम्ली झर, बफ र चिकन छोयला, चुकौनी, बोडी फ्राइ, आलु फ्राइ, आलु–बोडी तामा, अण्डा फ्राइ, वासा लगायतका परिकारले महोत्सवलाई आकर्षक बनाएका छन्।

महोत्सवको शुभारम्भ गर्दै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले कला, संस्कृति र परिकारको संरक्षणमा यस्तो कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

स्थानीय तह र समुदायको सक्रियतामा गत वर्षदेखि सुरु गरिएको यो महोत्सव यस वर्ष पनि उत्साहजनक वातावरणमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्