एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुललाई सफलता



काठमाडौं, मंसिर ২৩ ।
मिड भ्याली सेकेन्डरी स्कुल, थिमिमा सम्पन्न एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी च्याम्पियनसिप को काठमाडौं उपत्यका छनोटमा भक्तपुर मोडर्न इंग्लिस सेकेन्डरी स्कुल विजयी बनेको छ । रोमान्चक फाइनलमा उसने श्री पुरानो गुहेश्वरी सेकेन्डरी स्कुललाई ५६–५० ले पराजित गर्दै उपत्यकाको प्रतिनिधित्व गर्ने अधिकार सुरक्षित गर्यो ।

आठ स्कुल सहभागी नकआउट आधारको प्रतियोगितामा भक्तपुर मोडर्नले पहिलो खेलमा काठमाडौं इन्टरनेसनल स्कुललाई ६९–१२ ले तथा सेमिफाइनलमा पवन प्रकृति स्कुललाई ६१–२० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

पुरानो गुहेश्वरीले सेक्रिड हार्टलाई ५६–१९ र सेमिफाइनलमा भीमेश्वर एकेडेमीलाई ६२–६० ले पन्छाएको थियो ।
बेस्ट रेइडर र बेस्ट डिफेन्डर दुवै अवार्ड पुरानो गुहेश्वरीका जुम्ल्याह राम रानामगर र लक्ष्मण रानामगर ले हात पारे ।

केबी साम नेपाल कबड्डी लिग (एनकेएल) का आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्ट ले आयोजित यो प्रतियोगिताबाट उपत्यकासहित पोखरा, विराटनगर, बुटवल, धनगढी र जनकपुरका विजेता गरी ६ टिमले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिप एनकेएल सिजन–२ कै समयमा हुने जनाइएको छ ।

गत वर्ष सफलतापूर्वक आयोजना भएको पहिलो संस्करणपछि एस्ट्रोनिक्स म्यानेजमेन्टले एनकेएललाई १० वर्षे योजना अन्तर्गत फ्रेन्चाइज मोडेलमा सञ्चालन गर्दै आएको छ । यस वर्ष दोस्रो संस्करणका लागि ५१२ खेलाडीले नाम दर्ता गरिसकेका छन्, जुन गत वर्षभन्दा दोब्बर हो ।

पहिलो सिजनमा जनकपुर नाइट्सले काठमाडौं माभरिक्सलाई ४३–४१ ले हराउँदै उपाधि जितेको थियो । दुई नेपाली कप्तान—घनश्याम रोका मगर र गणेश पार्की—समेत भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ मा खेलेका थिए ।
सिजन–२ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्