
काठमाडौं, मंसिर २३ गते ।
दुबईमा जारी आईबा मेन्स विश्व बक्सिङ च्याम्पियनसिप–२०२५ अन्तर्गत पाँचौँ दिनको खेलमा नेपालका मुक्केबाज लाल प्रसाद उप्रेती क्वाटरफाइनलमा प्रवेश गरेका छन् । डिसेम्बर ४ देखि १४ सम्म चल्ने च्याम्पियनसिपअन्तर्गत उनले ४८ किलो तौलसमूहमा माल्युदोभाका खेलाडीलाई युनानिमस डिसिजन (५–०) मा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् ।
उप्रेतिले पहिलो राउन्डदेखि नै उत्कृष्ट प्रदर्शन गरे । पहिलो राउन्ड १०–०९ को स्पष्ट लिडसहित ५–० को अग्रता बनाएका उनले दोस्रो राउन्डमा पनि ४–१ को बढतिलाई कायम राखे । तेस्रो राउन्डमा प्रतिद्वन्द्वीका अधिकांश पन्चलाई सफलतापूर्वक डक गर्दै स्पष्ट र गुणस्तरीय पन्चहरू अवतरण गर्दै ५–० ले खेल टुङ्ग्याए ।
यसअघि उनले इथियोपियाका अलेमु अबेल अबात्येलाई पनि ५–० कै आधारमा पराजित गर्दै विजयी यात्रा सुरु गरेका थिए ।
महिला तर्फ अन्जनि तेलीले विश्व च्याम्पियनसिपमा दुई देशलाई पराजित गर्दै इतिहास रचेकी अवस्थामा पुरुषतर्फ उप्रेती क्वाटरफाइनलसम्म पुग्ने पहिलो नेपाली बनेका छन् ।
अब उप्रेतिको सेमीफाइनल प्रवेशका लागि हुने खेल निर्णायक हुनेछ । उनले विजयी हुन सके कम्तिमा ७५ हजार डलर (करिब १ करोड ८ लाख रुपैयाँ) सुनिश्चित गर्नेछन् । आईबाका अनुसार प्रतियोगिताका विजेताले ३ लाख डलर, उपविजेताले १ लाख ७५ हजार डलर तथा तेस्रो हुने दुई जनाले ७५ हजार डलर पाउनेछन् ।
अर्का नेपाली खेलाडी चन्द्र थापा आज (डिसेम्बर ९) अर्मेनियाका मुक्केबाजसँग प्रतिस्पर्धा गर्दैछन् ।





