
मंसिर २३, २०८२
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता र विश्व एन्टी–डोपीङ एजेन्सी (WADA) का एसोसिएट डाइरेक्टर एमिलियानो बीच भेटवार्ता सम्पन्न भएको छ। परिषद् परिसरमै भएको उक्त भेटमा नेपालमा राष्ट्रिय एन्टी–डोपिङ एजेन्सी (NADO) स्थापना भइसकेकाले अब WADA ले आधिकारिक रूपमा NADO सँग मात्र समन्वय गरी काम गर्नुपर्ने सुझाव सदस्य सचिव मेहताले राखे।

उनले नेपालमा स्वच्छ, पारदर्शी र उत्तरदायी एन्टी–डोपीङ संरचना बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
WADA का एसोसिएट डाइरेक्टर एमिलियानोले राष्ट्रिय एन्टी–डोपीङ एजेन्सीलाई आधिकारिक मान्यता प्रदान गर्दै नेपालको एन्टी–डोपिङ अभियान अझै व्यवस्थित, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार अघि बढ्ने विश्वास व्यक्त गरे। उनले WADA नेपालसँग सहकार्य गर्दै निष्पक्ष र मर्यादित खेलकुद प्रवर्द्धनमा सहयोग रहने बताए।

भेटका क्रममा नेपालमा खेलकुदको विकास, खेलाडी संरक्षण, एन्टी–डोपिङ आवश्यकताहरू तथा अन्तर्राष्ट्रिय मानक पालनाबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा राष्ट्रिय एन्टी–डोपीङ एजेन्सीका संयोजक डा. असिम भण्डारी पनि उपस्थित थिए।





