एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्नको विजय



मंसिर २३, २०८२
एनकेएल नेक्स्टजेन इन्टर–स्कुल कबड्डी च्याम्पियनसिपको काठमाडौं उपत्यका छनोटमा भक्तपुर मोडर्न इंग्लिस सेकन्डरी स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ। फाइनल खेलमा मोडर्नले पुरानो गुहेश्वरी सेकन्डरी स्कुललाई ५६–५० ले पछि पार्दै उपाधि हात पारेको हो।

थिमीस्थित मिड भ्याली सेकन्डरी स्कुलमा सम्पन्न दुईदिने छनोट प्रतियोगितामा शीर्षस्थान सुरक्षित गरेसँगै भक्तपुर मोडर्नले एनकेएल नेक्स्टजेन इन्टर–स्कुल कबड्डी च्याम्पियनसिपको फाइनल चरणमा स्थान पक्का गरेको छ।

आठ विद्यालयको सहभागिता रहेको उपत्यका छनोटमा मोडर्न स्कुले आफ्नो पहिलो खेलमै काठमाडौं इन्टरनेसनल स्कुललाई ६९–१२ को एकतर्फी नतिजाले पराजित गरेको थियो। सेमिफाइनलमा उसले पवन प्रकृति स्कुललाई ६१–२० ले सहज रूपमा हराउँदै फाइनलमा प्रवेश गरेको थियो।

यस्तै, उपविजेता बनेको पुरानो गुहेश्वरी स्कुले पहिलो खेलमा सेक्रेड हार्ट सेकन्डरी स्कुललाई ५६–१९ ले हराएको थियो भने सेमिफाइनलमा भीमेश्वर एकेडेमीलाई ६२–६० को कडा संघर्षपूर्ण नतिजाले पराजित गर्दै फाइनलसम्म आइपुगेको थियो।
काठमाडौं इन्टरनेसनल, सेक्रेड हार्ट, मिड भ्याली र श्री लुभू सेकन्डरी स्कुल सुरुवाती चरणमै बाहिरिएका थिए। पवन प्रकृति र भीमेश्वर एकेडेमीले पनि अन्तिम चारभन्दा माथि उक्लिन सकेनन्।

छनोट चरणमा उत्कृष्ट खेल प्रदर्शन गर्ने पुरानो गुहेश्वरीका जुम्ल्याहा खेलाडी राम रानामगर र लक्ष्मण रानामगरले क्रमशः ‘बेस्ट रेइडर’ र ‘बेस्ट डिफेन्डर’ अवार्ड हात पारे।

केबी साम नेपाल कबड्डी लिग (एनकेएल) का आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डी खेलाडी उत्पादन तथा विकासका उद्देश्यले सुरु गरेको एनकेएल नेक्स्टजेन इन्टर–स्कुल कबड्डी च्याम्पियनसिप अन्तर्गत उपत्यकासहित पोखरा, विराटनगर, बुटवल, धनगढी र जनकपुरमा हुने छनोटका विजेता टोलीले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्। च्याम्पियनसिप एनकेएल सिजन–२ को अवसरमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीका अनुसार ग्रासरुट स्तरबाटै खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना गरिएको यो प्रतियोगिता नेपाली कबड्डी तथा एनकेएलप्रतिको आकर्षण बढाउने माध्यम बन्ने विश्वास गरिएको छ। उनका अनुसार ग्रासरुटबाटै तयार भएका खेलाडी भविष्यमा व्यावसायिक लिगमा योगदान गर्न सक्षम हुने अपेक्षा गरिएको छ।

बेगानी ग्रुपअन्तर्गतको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघको स्वीकृतिमा गत वर्ष पहिलो संस्करणको एनकेएल सफलतापूर्वक सम्पन्न गरेको थियो। संघसँग १० वर्षे सम्झौताअन्तर्गत फ्रेन्चाइज मोडेलमा लिग सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्