विराटनगरमा ३४१ बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’



विराटनगर, मोरङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले एकदेखि पाँच वर्ष उमेरसम्मका बालबालिकालाई लक्षित गर्दै विशेष आयुर्वेदिक औषधि ‘स्वर्ण विन्दु प्राशन’ सेवन गराउने कार्यक्रम सञ्चालन गरेको छ।
आज आयोजित कार्यक्रममा अभिभावकहरूले आफ्ना बालबालिकालाई केन्द्रमा उपस्थित गराउँदै उक्त प्राशन खुवाए।

कार्यालय प्रमुख डा. राम प्रवोध चौधरीका अनुसार मह, ब्राह्मी (घ्यू) र सुनको भष्म मिसाएर तयार पारिने औषधिलाई थोपा स्वरूपमा बालबालिकालाई खुवाइने भएकाले यस विधिलाई ‘स्वर्ण विन्दु प्राशन’ भनिन्छ। उनका अनुसार यसले बालबालिकाको बौद्धिक क्षमता, सामाजिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउने तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने विश्वास गरिएको छ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले चालु आर्थिक वर्षमा देशभरका २५ आयुर्वेद केन्द्रमार्फत ‘स्वर्ण विन्दु प्राशन’ कार्यक्रम विस्तार गर्ने तयारी गरेको छ। सोही अनुरूप मोरङस्थित विराटनगर केन्द्रबाट बालबालिकालाई प्राशन खुवाउने प्रक्रिया अघि बढाइएको डा. चौधरीले बताए।

कार्यक्रमको प्रारम्भिक चरणमा १६० बालबालिकालाई स्वर्ण विन्दु प्राशन दिइएको थियो। दोस्रो चरणमा नयाँ १८१ बालबालिका थपिएसँगै आजसम्म कुल ३४१ जनाले औषधि सेवन गरेको केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्