
काठमाडौं।
युएईको दुबईमा मंसिर २१ देखि २८ गतेसम्म आयोजना हुने एसियन युथ पारा गेम्समा नेपालकी पारा तेक्वान्दो खेलाडी रेनु तामाङ सहभागी हुने भएकी छन्। राष्ट्रिय खेलकुद परिषद्को अधीनमा सञ्चालन भइरहेको मिसन–२०२६ को विशेष प्रशिक्षणमा रहेकी रेनुले के–४४ को ४७ केजीमुनि तौल समूहमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
टोलीलाई नेतृत्व प्रदान गर्ने प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल–२ का अनुभवी प्रशिक्षक कविराज नेगी लामा छन्, जो नेपाली पारा तेक्वान्दोमा निरन्तर उत्कृष्टता स्थापित गर्दै आएका छन्। सोमबार राति दुबई प्रस्थान गरेको नेपाली टोलीले पारा तेक्वान्दो, एथलेटिक्स, टेबलटेनिस र पावरलिफ्टिङ गरी चार खेलमा सहभागिता जनाउनेछ।
समारोहपूर्वक बिदाइ कार्यक्रम नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा महासचिव हेमन्त डाँगी, प्रशिक्षकहरू तथा पदाधिकारीहरूको उपस्थिति उल्लेख्य थियो।
रेनुले यसअघि मलेसियामा सम्पन्न १०औँ एशियाली पारा तेक्वान्दो प्रतियोगिता र १३औँ कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागिता जनाएर अनुभव बटुलेकी थिइन्। कोरियन एम्बेस्डर च्याम्पियनसिपमा उनले स्वर्ण जितेर नेपाललाई गौरवान्वित गराएकी थिइन्।
नेगीको प्रशिक्षणमा नेपालले पछिल्ला वर्षहरूमा ३ स्वर्ण, २ रजत र ७ कांस्यसहित १२ अन्तर्राष्ट्रिय पदक जितेको तथ्यले यसपटक पनि पदकको आशा बढाएको छ।
एथलेटिक्समा मोहन रोका र विजय मुक्तान, टेबलटेनिसमा निर्मला भण्डारी र स्विकृत न्यौपाने, पावरलिफ्टिङमा मनिष पुन तथा ओमनाथ शिवाकोटी शेफ द मिसनका रूपमा टोलीसँग छन्।





