कल्बा अन्तर्राष्ट्रिय जुडो : सकुन सुनुवारले रजत जित्दै उत्कृष्ट प्रदर्शन



काठमाडौं, मंसिर २२ गते।
नेपाली जुडोकी प्रशिक्षक तथा खेलाडी सकुन सुनुवारले संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न कल्बा अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा रजत पदक जितेकी छन्। डिसेम्बर ६ देखि ७ तारिखसम्म चलेको प्रतियोगितामा सकुनले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेकी हुन्। पामका मुख्य प्रशिक्षक सूर्यनारायण श्रेष्ठले उनको प्रदर्शनले अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको क्षमता पुनः प्रमाणित गरिएको बताए।

प्रतियोगितामा सकुनले पेरिस सेन्ट जर्मन एकेडेमी जुडोबाट प्रतिनिधित्व गरेकी थिइन्। सो एकेडेमीमा उनी प्रमुख प्रशिक्षकको रूपमा समेत कार्यरत रहेको प्रशिक्षक श्रेष्ठले जानकारी दिए। सजिलो प्रतिद्वन्द्वी नभएका प्रतिस्पर्धाहरूबीच सकुनले निरन्तर आक्रामक र रणनीतिमूलक जुझारूपन देखाउँदै फाइनल स्थान सुरक्षित गरेकी थिइन्।

सकुनले आफ्नै खेल यात्रा न्यु होराइजनबाट प्रारम्भ गरेकी थिइन्। पछि बन्दी सहायता नियोग (पाम) मा आबद्ध भएपछि उनी प्रशिक्षक र शिक्षक दुवै भूमिकामा सक्रिय रहँदै युवा खेलाडी उत्पादनमा योगदान दिइरहेकी छन्। अन्तर्राष्ट्रिय मञ्चबाट प्राप्त यस सफलताले नेपालको जुडो स्तरमा थप ऊर्जा भर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्