रेनु तामाङ एशियन युथ पारा गेम्समा प्रतिस्पर्धा गर्ने



काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा मंसिर २१ देखि २८ गतेसम्म हुने एशियन युथ पारा गेम्समा नेपालकी पारा तेक्वान्दो खेलाडी रेनु तामाङ सहभागी हुने भएकी छन्। राष्ट्रिय खेलकुद परिषद्का महत्वाकांक्षी ‘मिसन–२०२६’ अन्तर्गत विशेष प्रशिक्षण लिइरहेकी रेनुले के–४४ विधाको ४७ केजीमुनि तौल समूहमा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्नेछिन्। सो प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय लेभल–टु प्रशिक्षक कविराज नेगी लामा प्रशिक्षकका रूपमा रहनेछन्। नेपाली टोली सोमबार राति दुबई प्रस्थान गर्नेछ भने रेनुले मंसिर २६ गते शुक्रबार प्रतिस्पर्धा गर्ने कार्यक्रम छ।

रेनु सहितको टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समितिका सदस्य भानबहादुर चन्दलगायत पदाधिकारीले बिदाइ गरेका थिए। कार्यक्रममा महासचिव हेमन्त डाँगी, केन्द्रीय सदस्यहरू प्रेम भण्डारी, सुरेश मानन्धर र वरिष्ठ प्रशिक्षक सुमन घलेको उपस्थिति थियो।

यसअघि रेनुले मलेसियामा सम्पन्न १०औं एशियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाइसकेकी छन्। केही समयअघि भएको १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा उनले स्वर्ण पदक जितेकी थिइन्।

प्रशिक्षक नेगीको मार्गदर्शनमा नेपालको पारा तेक्वान्दोले ३ स्वर्ण, २ रजत र ७ कांस्यसहित १२ अन्तर्राष्ट्रिय पदक जितिसकेको छ। सन् २०२१ मा बहराइनमा सम्पन्न एशियन युथ पारा गेम्समा पनि नेगीकै प्रशिक्षणमा पलेशा गोर्वधनले स्वर्ण, सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कांस्य पदक दिलाएका थिए।

प्रतिक्रिया दिनुहोस्