योग प्रशिक्षक उत्पादन थाल्यो मनमोहन प्राविधिक विश्वविद्यालयविराटनगर, २२ मंसिर



कोशी सरकारअन्तर्गत रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले प्रदेशभर योग प्रशिक्षक उत्पादन गर्ने कार्यक्रम सुरु गरेको छ। विभिन्न संघ–संस्था र स्थानीय तहसँगको सहकार्यमा विश्वविद्यालयले चरणबद्ध रूपमा योग प्रशिक्षण सञ्चालन गर्दै प्रशिक्षक उत्पादनको प्रक्रिया अघि बढाएको हो।

रोग लागेकोपछि मात्र उपचारमा निर्भर न रही, नागरिकलाई स्वस्थ राखेर रोग लाग्ने जोखिम नै कम गर्ने उद्देश्यका साथ समाजिक उत्तरदायित्वअन्तर्गत योग प्रशिक्षक उत्पादनमा विश्वविद्यालयले पहल थालेको तालिम संयोजक विकास राईले जानकारी दिए।

उनका अनुसार मंसिर २० गते झापा, दमक–८ वडा कार्यालयको आयोजनामा विश्वविद्यालयका उपकुलपति डा. सुवाषश्री पोखरेलले ४५ दिने योग प्रशिक्षण शिविर उद्घाटन गरेका छन्। करिब ५० सहभागी रहेको उक्त शिविरमा दमक नगरपालिकाका उपमेयर रेगिना भट्टराई, वडा नं. ८ का अध्यक्ष धर्मप्रसाद दाहाल तथा स्थानीय बुद्धिजीवी–समाजसेवीहरूको पनि सहभागिता थियो।

यसअघि पाँच महिना पहिले मोरङको उर्लावारीमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको आयोजनामा सञ्चालन गरिएको योग प्रशिक्षणबाट ४४ जना प्रशिक्षक उत्पादन भएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयले दक्ष योग गुरुमार्फत तीन चरणमा प्रशिक्षण प्रदान गरी प्रशिक्षक उत्पादन गर्छ। प्रशिक्षण दिने गुरु र प्रशिक्षार्थीले एक वर्षसम्म दिने सेवाको सम्पूर्ण खर्च विश्वविद्यालयले व्यहोर्ने व्यवस्था छ।

कोशी प्रदेशका गाउँ–गाउँसम्म योग प्रशिक्षक पु¥याई जनतालाई स्वस्थ बनाउन मद्दत गर्ने लक्ष्य मनमोहन विश्वविद्यालयको रहेको छ। साथै, विश्वविद्यालयले स्कुल अफ एप्लाइड हेल्थ साइन्समार्फत चाँडै प्राकृतिक चिकित्सासम्बन्धी उच्च शिक्षाको कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्