ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



सिरहा । नेपाली सेनाको श्री नं. २७ वाहिनी अड्डा, चोहर्वा ब्यारेक सिरहाको आयोजनामा नागरिक–सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले सुखिपुर नगरपालिका–१० दहिपौडीमा बृहत् सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

‘नागरिक सहयोग सेवा’ कार्यक्रमलाई प्रभावकारी बनाउने लक्ष्यअनुसार सहायक रथी समीर श्रेष्ठको कमान्डमा विभिन्न स्वास्थ्य संस्थाको सहकार्यमा श्री जनता माध्यमिक विद्यालयको परिसरमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा श्री नं. २७ फिल्ड एम्बुलेन्स गुल्मका चिकित्सक, सगरमाथा चौधरी आँखा अस्पताल, प्रादेशिक अस्पताल सिरहा, लहानस्थित फुलकमारी महतो मेमोरियल अस्पताल, नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र लहान, एनसीसी एलुमनाई एसोसिएसन नेपाल तथा हिमालय सुगर मिल प्रालिको सक्रिय सहभागिता रहेको थियो ।

शनिबार आयोजित शिविरमा सर्पदंश, भर्ना छनोट, शीतलहर, आगलागी जस्ता दैविक प्रकोपसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । साथै आँखासम्बन्धी, दाँत, छाला, प्रसूति तथा सामान्य बहिरङ्ग सेवासहित रक्तदान कार्यक्रम पनि गरिएको सहायक रथी समीर श्रेष्ठले जानकारी दिए ।

शिविरमार्फत महिला २१६ र पुरुष २४४ गरी कुल ४६० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । विपन्न समुदायलाई लक्षित गरी आयोजना गरिएको यस शिविरले समुदायमा नेपाली सेनाप्रतिको विश्वास, पहुँच र सकारात्मक सोच अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्