
नेपालगन्ज । निजी क्षेत्रले नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सञ्चालनका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । आइतबार नेपालगन्जमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य सङ्घ, नेपालगन्जले अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग अघि सारेको हो ।
सङ्घका अध्यक्ष टङ्क धामीले विगत एक दशकदेखि नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि निरन्तर पहल हुँदै आएको जानकारी गराउँदै सिधा हवाई सम्पर्क स्थापित भएमा यस क्षेत्रको व्यापार, उद्योग र पर्यटन क्षेत्र उल्लेखनीय रूपमा चलायमान हुने बताए । उनले आवश्यक पूर्वाधारसमेत क्रमशः तयार हुँदै गएकाले अब सरकारको तर्फबाट नीतिगत निर्णय र ठोस कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए ।
ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री खनालले वर्तमान सरकार विशेष परिस्थितिमा बनेको स्पष्ट पार्दै चाहना हुँदाहुँदै पनि तत्काल ठूला निर्णय लिन कठिनाइ रहेको बताए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार गठन हुने जनाउँदै उनले हालको सरकार करिब तीन महिनाका लागि मात्र रहेको उल्लेख गरे । “राजनीतिक अवस्था बिग्रिने र निर्वाचनको प्रक्रियामा असर पर्ने कुनै पनि काम हामी गर्न सक्दैनौँ,” उनले भने ।
नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले वस्तुको भन्सार दर घटाउन सरकारसँग आग्रह गर्दै तस्करीका कारण नेपाली व्यवसायीहरू थप मर्कामा परेको गुनासो गरे । अध्यक्ष धामीले रुपैडिहाबाट सामान भित्र्याउँदा ठूलो परिमाणमा भन्सार चुहावट भइरहेको दाबी गर्दै त्यसलाई नियन्त्रण गर्न तत्काल प्रभावकारी उपाय अपनाउनुपर्ने बताए ।
सङ्घले व्यापार, भन्सार, हवाई उडान, तस्करी नियन्त्रणलगायत विभिन्न विषय समेटिएका २१ बुँदे मागसहितको ज्ञापनपत्र सरकारसमक्ष बुझाएको छ ।





