
सिरिया। शासक बशर अल–असदलाई सत्ताच्युत गरेको एक वर्ष पूरा भए पनि सिरियाको संक्रमणकाल अझै संवेदनशील छ र देशमा प्रतिकार र प्रतिशोधको चक्र समाप्त हुन बाँकी रहेको संयुक्त राष्ट्रसंघका अन्वेषकहरूले आइतबार बताएका छन्।
इस्लामिक नेतृत्वको सेनाले असदलाई सत्ताच्युत गर्न तिव्र आक्रमण गरेको थियो र करिब १४ वर्षको युद्धपछि सन् २०२४ डिसेम्बर ८ मा सत्ता परिवर्तन भएको थियो। तर, एक वर्ष वितिसक्दा पनि सर्वसाधारणले अपेक्षित सुधार र लाभ अनुभव गर्न सकेका छैनन्, विशेषज्ञहरूले बताएका छन्।
सन् २०११ मार्चदेखि सिरियामा भएको सबै अन्तर्राष्ट्रिय मानवअधिकार उल्लङ्घनको अनुसन्धान र अभिलेख तयार गर्ने संयुक्त राष्ट्रसंघको स्वतन्त्र अन्तर्राष्ट्रिय जाँचबुझ आयोग अहिले पनि सक्रिय छ। आयोगले विगतका अपराध र दुव्र्यवहारको समाधानतर्फ सरकारले चालेका कदमको कदर गर्दै जनतालाई अपेक्षित लाभ सुनिश्चित गर्न अझै थप प्रयास आवश्यक रहेको उल्लेख गरेको छ।
असदको पतनपछि देशमा हिंसात्मक घटनाहरूले नयाँ विस्थापन र ध्रुवीकरण निम्त्याएको छ, जसले भविष्यको दिशाबारे चिन्ता बढाएको आयोगले जनाएको छ। असद शासनले गरेको दुव्र्यवहारको ‘भयानक सूची’ सिरियावासीको लागि ‘औद्योगिक स्तरको अपराधपूर्ण हिंसा’ भएको आयोगले ठहर गरेको छ।
आयोगले भन्यो, “सिरियाले राष्ट्रको रूपमा भविष्यतर्फ अघि बढ्न बदला र प्रतिशोधको चक्र अन्त्य गर्नैपर्छ। यसले समानता, कानूनी शासन, र सबैका लागि शान्ति र सुरक्षाको सुनिश्चितता दिन्छ।”
सिरियाको संक्रमणकाल ‘कमजोर’ परिवर्तनका साथ अघि बढिरहेको छ। धेरैले सत्ता परिवर्तनको वार्षिकोत्सव मनाउने तयारी गरिरहेका बेला अरू आफ्नै सुरक्षा सुनिश्चित गर्न डराइरहेका छन्। जाडो महिनामा धेरै नागरिक फेरि विस्थापित भएर शिविरमा दिनरात बिताउन बाध्य हुनुपर्ने अवस्था देखिएको छ। त्यस्तै, जबरजस्ती बेपत्ता पारिएका हजारौँको भाग्य अझै अज्ञात छ।
आयोगले युद्ध र विनाशको विरासतबाट बाहिर निस्कन ठूलो शक्ति, धैर्य र सहयोग आवश्यक रहेको बताए। “सिरियाली जनता लामो समयदेखि वञ्चित अधिकारसहित शान्तिपूर्ण जीवन बिताउन योग्य छन् र उनीहरू यस दिशामा अघि बढ्न सक्षम हुनेमा कुनै शङ्का छैन,” विज्ञप्तिमा भनिएको छ।
तीन सदस्यीय आयोगले उल्लङ्घनका अपराधीलाई अन्ततः जवाफदेही बनाउन तथ्यहरू सङ्कलन गर्ने जिम्मेवारी पाएको छ। संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्ले अप्रिलमा आयोगको जिम्मेवारी थप एक वर्षका लागि नवीकरण गरेको थियो।





