एनपीएलमा अर्धशतकको सङ्ख्या ३५ पुग्यो



काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा अर्धशतकको कुल सङ्ख्या ३५ पुगेको छ । आइतबार जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिले कर्णाली याक्सविरुद्ध अर्धशतक पूरा गरेसँगै प्रतियोगितामा अर्धशतकको सङ्ख्या ३५ पुगेको हो ।

सञ्जयले ३७ बलमा एक चौका र चार छक्काको सहयोगमा ५० रन पूरा गरेका थिए । यो उनको जारी सिजनको दोस्रो अर्धशतक हो ।

यस सिजनमा हालसम्म २९ खेलाडीले अर्धशतक पूरा गरिसकेका छन् । सर्वाधिक तीन अर्धशतक चितवन राइनोजका रवि बोपराले प्रहार गरेका छन् । त्यस्तै पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटन तथा कर्णाली याक्सका प्रियान्क पञ्चालले दुई–दुई अर्धशतक हिर्काएका छन् ।

यस्तै सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, क्रिस लिन र ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गुप्टिल र बसिर अहमद, पोखरा एभेन्जर्सका सुमित बर्मा, जिमी निसम र रिसी धवन, चितवन राइनोजका डेभिड मलान र अर्जुन साउँद, काठमाडौँ गोर्खाजका भीम सार्की, जोन सिम्प्सन र बेन चार्ल्सवर्थ, कर्णाली याक्सका मार्क वाट, लुम्बिनी लायन्सका डार्सी सर्ट तथा जनकपुर बोल्ट्सका वायन पार्नेल, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक–एक अर्धशतक प्रहार गरेका छन् ।

हालसम्म जारी प्रतियोगितामा कर्णाली याक्सका मार्क वाट र पोखरा एभेन्जर्सका एडम रोसिङटनले मात्रै शतक प्रहार गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्