चीनले इन्टरनेट उपग्रहको १४औँ समूह सफलतापूर्वक कक्षामा पठायो



चीन । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेटमार्फत इन्टरनेट उपग्रहहरूको १४औँ समूह सफलतापूर्वक कक्षामा प्रक्षेपण गरेको छ। दिउँसो ३:५३ बजे प्रक्षेपण गरिएको रकेटले उपग्रहहरूलाई निर्धारित कक्षामा सफलतापूर्वक पुर्‍याएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

लङ मार्च–८ए रकेट ५०.५ मिटर लामो र ३७१ टन तौलको छ। यस रकेटले करिब ७०० किलोमिटर उचाइमा ७ टनसम्मको भार लैजान सक्ने क्षमता राख्दछ।

यसपटकको प्रक्षेपणमा रकेटले पहिलोपटक पेट्रोलियम–आधारित इन्धनको सट्टा कोइला–आधारित नयाँ प्रकारको इन्धन प्रयोग गरेको चिनियाँ अधिकारीहरूले बताएका छन्। उक्त इन्धन वातावरणमैत्री, सुरक्षित र लागतसापेक्ष सस्तो मानिन्छ।

शनिबारको यो प्रक्षेपण लङ मार्च–८ए रकेटको पाँचौँ उडान तथा लङ मार्च श्रृङ्खलाको समग्रमा ६१२औँ प्रक्षेपण रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्