
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पुलबजार क्षेत्रमा रोकिएको स्तरोन्नतिको काम पुनः सुरु भएको छ । साँगा–धुलिखेल सडक खण्ड विस्तारका क्रममा पुलबजार क्षेत्रमा मध्यविन्दु निर्धारण (सेन्टरलाइन) को विषयमा विवाद हुँदा सडकछेउका जग्गाधनीले काम अवरुद्ध गरेपछि गत डेढ वर्षदेखि निर्माण कार्य ठप्प थियो ।
सूर्यविनायक–धुलिखेल सडक आयोजना प्रमुख विजयकुमार महतोका अनुसार अहिले साँगा–धुलिखेल खण्डमा करिब ६० प्रतिशत र सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । यस खण्डमा अझै केही स्थानमा रहेका छ वटा घर भत्काउन बाँकी रहेको उनले जानकारी दिए ।
अवरोध हटेसँगै निर्माण कार्यले पुनः गति लिएको छ भने आगामी दिनमा बाँकी संरचना हटाएर कामलाई तीव्रता दिइने आयोजनाले जनाएको छ ।





