सागसब्जीखेतीबाट समृद्धिको बाटो: कञ्चनपुरका दुई किसानको प्रेरणादायी कथा



कञ्चनपुर । विदेशमा अपेक्षित आम्दानी गर्न नसकेपछि स्वदेश फर्किएका कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी अहिले व्यावसायिक सागसब्जीखेतीमार्फत आत्मनिर्भर बनेका छन् । साउदी अरबबाट रित्तो हात फर्किएको पीडाले गाउँमै केही गर्ने अठोट पलाएको उनी बताउँछन् ।

“जग्गा त थियो, तर खेती गर्ने ज्ञान थिएन,” उनले भने, “गाउँकै अनुभवी किसानबाट प्रविधि, विषादी प्रयोग र मल व्यवस्थापनजस्ता आवश्यक सीप सिकेँ, त्यसैको परिणाम आज देखिँदैछ।” परम्परागत खेतीबाट मुस्किलले परिवार धान्ने अवस्थामा रहेका चौधरी अहिले सागसब्जीखेतीमार्फत वार्षिक करिब १२ लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।

दुई बिघा क्षेत्रमा बाह्रै महिना काउली, खुर्सानी, गोलभेँडालगायतका सागसब्जी उत्पादन गर्दै आएका उनी बालुवाफाँटाका सफल व्यावसायिक किसानका रूपमा परिचित छन् । विदेश जान हतारिने युवालाई स्वदेशमै श्रम र सीप प्रयोग गर्न उनको सन्देश छ ।

जनक चौधरीको सफलताबाट प्रेरित भएर सोही स्थानका जितबहादुर चौधरी पनि व्यावसायिक सागसब्जीखेतीमा लागेका छन् । खेतबाट कमाएको आम्दानीले उनले आफ्नै ‘पिकअप भ्यान’ खरिद गरी बनारससम्म आफ्ना उत्पादन पुर्‍याउँदै आएका छन् । अन्नबालीभन्दा सागसब्जीखेतीबाट बढी आम्दानी हुने भएपछि आफू पूर्ण रूपमा यही पेशामा केन्द्रित भएको उनले बताए ।

कञ्चनपुरका यी दुई किसानको सफलता स्थानीय युवापुस्तालाई स्वदेशमै कृषिमा सम्भावना खोज्न प्रेरणा बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्