
सुर्खेत। सुर्खेत आँखा अस्पतालले आँखासम्बन्धी उपचार सेवामा उपविशिष्टिकृत सेवा विस्तार गर्ने तयारी तीव्र पारेको छ। अस्पतालले बाल आँखा उपचार सेवा (नवजात शिशुसहित), रेटिना तथा जलविन्दु (ग्लुकोमा) उपचार सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको हो।
उपविशिष्ट सेवा सञ्चालनका लागि अस्पतालले आवश्यक नेत्र विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी तथा अत्याधुनिक उपकरणको व्यवस्थापन गरिरहेको जनाएको छ। यी सेवा सुर्खेतमै उपलब्ध भएपछि आँखाको जटिल उपचारका लागि कर्णालीका बिरामीलाई अब सङ्घीय राजधानी काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ।
अस्पतालकी मेडिकल निर्देशक डा. आकाङ्क्षा रानाले सुर्खेत आँखा अस्पतालमा उपविशिष्ट आँखा उपचार सेवाअन्तर्गत बाल आँखा उपचार (नवजात शिशुसहित), रेटिना तथा जलविन्दु सेवा सञ्चालनको तयारी भइरहेको जानकारी दिइन्। उनका अनुसार रेटिना सेवा सुरु भइसकेको छ भने बाँकी सेवा पनि छिट्टै सञ्चालनमा ल्याइनेछ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा अन्धोपनको दर उच्च रहेको छ, जुन कूल जनसङ्ख्याको करिब १ प्रतिशत रहेको छ। पछिल्लो जनगणनाअनुसार कर्णालीका ७९ पालिकाका ७१८ वडामा १६ लाख ८८ हजार ४१२ जनसङ्ख्या रहेको छ।





