शिभाली गुरुङले ग्रान्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने पक्का, नेपाली टेनिसको इतिहासमा नयाँ अध्याय



मंसिर २१ गते । नेपाली टेनिसकी उदाउँदो प्रतिभा शिभाली गुरुङले प्रतिष्ठित ग्रान्डस्लाम प्रतियोगिता अष्ट्रेलियन ओपन खेल्ने निश्चित भएकी छन्। नेपालबाट ग्रान्डस्लाम खेल्ने पहिलो खेलाडीको रूपमा इतिहास रच्दै उनले सन् २०२६ को जनवरीमा अष्ट्रेलियामा प्रतिस्पर्धा गर्नेछिन्।

शिभालीले अष्ट्रेलियाको मेलबर्नमा जनवरी १४ देखि ३० तारिखसम्म सञ्चालन हुने अष्ट्रेलियन ओपनको १४ वर्ष मुनिको जुनियर इलिट ट्रफी विधामा प्रतिस्पर्धा गर्नेछिन्। उमेर समूहका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनी ग्रान्डस्लामसम्म पुग्ने नेपालको पहिलो खेलाडी बनेकी हुन्।

हाल शिभाली १४ वर्ष मुनिको एसियाली वरियतामा तेस्रो स्थानमा छिन्। एसियाको शीर्ष तीनभित्र स्थान बनाउने उनी नेपालकै पहिलो टेनिस खेलाडी हुन्। उनी आईटिएफ–एटिएफ अन्तर्गतको ‘ग्रान्डस्लाम प्लेयर डेभलोपमेन्ट प्रोग्राम’ र ‘टेनिस टु युरोप’ कार्यक्रममार्फत फ्रान्स, जर्मनी, बेल्जियमलगायत देशमा प्रशिक्षण तथा प्रतियोगिता अनुभवसमेत लिइसकेकी छन्।

शिभालीले शुक्रबार मात्रै पोखरामा सम्पन्न आईटिएफ जे–३० फस्ट विक प्रतियोगितामा सिंगल्स र डबल्स दुबै विधामा स्वर्ण पदक जित्दै आफ्नो प्रभाव कायम राखेकी थिइन्। भर्खरै १४ वर्षमा प्रवेश गरेकी उनी आईटिएफ जे–३० प्रतियोगिता जित्ने पहिलो नेपाली खेलाडीसमेत बनेकी छन्।

उनको यो उपलब्धिले नेपाली टेनिसलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्