चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडोमा दाङ भ्याली कलेज च्याम्पियन



घोराही, मंसिर २०
दाङको घोराहीस्थित दाङ भ्याली कलेजको प्राङ्गणमा सम्पन्न चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो प्रतियोगिता मा दाङ भ्याली कलेज हाप्किडो डोजाङ च्याम्पियन बनेको छ ।

नेपाल हाप्किडो संघको आयोजनामा मंसिर १६ देखि २० गतेसम्म चलेको प्रतियोगितामा दाङ भ्याली कलेजले ९ स्वर्ण, ९ रजत र १२ कास्य पदक जित्दै उपाधि हात पारेको हो ।
लालमटियाको गोरखा आइडियल स्कुल ५ स्वर्ण र ३ कास्यसहित उपविजेता बन्यो भने डडेलधुराको दुर्गा मावि ३ स्वर्ण, २ रजत र ३ कास्यसहित तेस्रो बन्यो ।

उत्कृष्ट खेलाडी पुरुषतर्फ दुर्गा माविका चन्द्र सारु मगर र महिलातर्फ कास्कीकी मेग्मा गुरुङ घोषित भए ।
राइजिङ स्टारतर्फ करलस खड्का र ज्यास्लीन पौडेल सम्मानित भए ।
उत्कृष्ट रेफ्रीमा अमृत गुरुङ र एलिशा खड्का चयन भए ।

पाँच दिनसम्म चलेको प्रतियोगितामा सातै प्रदेशका १५४ विद्यालयका खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्