
बिराटनगर । मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १२ वर्षीया बालिका अंशु गौतमको हत्या प्रकरणमा संलग्न एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रारम्भिक अनुसन्धानबाट घटनामा जर्बजस्ती करणीपछि हत्या गरिएको पुष्टि भएको छ।
पीडितको विवरण
मोरङको लेटाङ नगरपालिका–२ फडानी निवासी नविन गौतमकी छोरी अंशु गौतम स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन्।
बेपत्ता भएकोदेखि शव फेला पर्नेसम्म
मिति २०८२ असोज २१ गते दिउँसो करिब २ बजे अंशु गौतम घरमा कसैलाई जानकारी नदिई बाहिर निस्किएपछि बेपत्ता भएकी थिइन्। परिवारले खोजतलास गर्दा पनि फेला नपरेपछि असोज २२ गते इलाका प्रहरी कार्यालय लेटाङमा हुलिया निवेदन दर्ता गरिएको थियो। त्यसपछि मोरङ जिल्ला हुँदै देशभर हुलिया परिपत्र गरिएको थियो।
प्रहरी, स्थानीयबासी, आफन्त र नेपाली सेनाको सहयोगमा असोज २५ गते जंगल क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन गरिएको थियो।
सडीगलेको अवस्थामा शव फेला
मिति २०८२ कार्तिक ७ गते दिउँसो १ बजे लेटाङ नगरपालिका–२ स्थित बेलबारी चिसाङ साझेदारी वन क्षेत्रमा कम्मरभन्दा तलको भाग र टाउको मात्र बाँकी रहेको सडीगलेको शव फेला परेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनास्थलबाट फेला परेको चप्पल, कालो हाफ पाइन्ट र कालो घडीको आधारमा मृतक अंशु गौतम नै भएको उनका पिता नविन गौतमले सनाखत गरे।
पोस्टमार्टम र डीएनए परीक्षण
शवका अवशेषहरू धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाइएको थियो। प्रारम्भिक चिकित्सकीय रिपोर्टअनुसार मृतक १२–१४ वर्ष उमेर समूहकी बालिका भएको र करिब तीन साताअघि मृत्यु भएको अनुमान गरिएको छ।
डीएनए परीक्षणका लागि मृतकका बुबा नविन गौतम र आमा भीमकुमारी गौतमको नमुना संकलन गरी काठमाडौंस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। हाल रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
व्यापक अनुसन्धान र ‘Operation JAG’
प्रकरणको अनुसन्धानलाई तीव्र बनाउन जिल्ला प्रहरी कार्यालय मोरङबाट पाँच सदस्यीय विशेष अनुसन्धान समिति गठन गरिएको थियो। साथै केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले ‘Operation JAG’ सञ्चालन गरी अनुसन्धान अघि बढाइएको थियो।
यस क्रममा—
करिब ३०० भन्दा बढी व्यक्तिसँग सोधपुछ
५४ जनाको लिखित बयान
CCTV फुटेज, फरेन्सिक प्रमाण, क्राइम सिन रीकन्स्ट्रक्सन
गाउँ छाडेका व्यक्तिहरूको खोजी
वन क्षेत्रमा घाँस–दाउरा गर्न जानेहरूको विस्तृत प्रोफाइलिङ गरिएको थियो।
अभियुक्त पक्राउ
पक्राउ परेका व्यक्ति:
नाम: पदमबहादुर अधिकारी
उमेर: ५९ वर्ष
स्थायी ठेगाना: लेटाङ–२, फडानी, मोरङ
बुवाको नाम: तिलकबहादुर अधिकारी
पक्राउ मिति: २०८२ मंसिर १९ गते
पक्राउ स्थान: निजकै घर, लेटाङ–२
प्रारम्भिक अनुसन्धानअनुसार घटनाक्रम
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार—
पदम अधिकारीले अंशु गौतमलाई साथी युरिका महतरा सँग विद्यालय नजिक खेलिरहेको अवस्थामा फेला पारेका थिए।
युरिकालाई ५ रुपैयाँ दिएर बहाना बनाई टाढा पठाइएको थियो।
अंशुलाई घाँस काट्न सहयोग गर्ने भन्दै साइकलको पछाडि राखेर करिब चार किलोमिटर भित्र जंगलमा लगिएको।
जंगलमा जर्बजस्ती करणीपछि घाँटी थिचेर हत्या गरिएको र हँसियाले घाँटी काटिएको खुलेको छ।
घटनाको सम्भावित कारण
प्रारम्भिक अनुसन्धानबाट घटनाको कारणका रूपमा—
यौन प्रेरणा (Sex Motive)
पारिवारिक विवाद
प्रतिशोध (Revenge)
लाई आधार मानेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कानुनी कारबाही
पक्राउ परेका पदम अधिकारीमाथि—
मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (ज्यान सम्बन्धी कसुर)
दफा २१९ (जबरजस्ती करणी)
साथै दफा ४१ का उपदफा (क) र (च)
अनुसार मुद्दा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।





