बाँकेको तेलहन खेती ओरालो लाग्दै, उत्पादन निरन्तर घट्दो



बाँके । बाँके जिल्लामा किसानहरूले तेलहन बालीको खेती क्रमशः घटाउँदै लगेपछि हरेक वर्ष उत्पादनमा गिरावट आइरहेको छ । तोरी बाहेक अन्य तेलहन बालीप्रति किसानको आकर्षण न्यून बन्दै जाँदा जिल्लाको समग्र तेलहन उत्पादन प्रभावित बनेको हो ।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सन्तोष पाठकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा छ हजार ५३० हेक्टर क्षेत्रफलमा गरिएको तोरी खेतीबाट पाँच हजार ६४८ मेट्रिक टन उत्पादन भएको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४ दशमलव ४१ प्रतिशतले कम हो ।

बाँकेमा कुल सात हजार २५६ हेक्टर क्षेत्रफलमा तेलहन बाली खेती हुँदै आएको छ । तोरीसँगै सर्सो, रायो, सूर्यमुखी, तिल, बदाम र आलस खेती गरिए पनि यी बालीको क्षेत्रफल र उत्पादन अत्यन्तै न्यून रहेको छ । हाल सर्सो ३५ हेक्टर, रायो १५ हेक्टर, सूर्यमुखी एक हेक्टर, तिल १५ हेक्टर, बदाम ६१५ हेक्टर र आलस ४५ हेक्टर क्षेत्रफलमा मात्र खेती भइरहेको सूचना अधिकारी पाठकले जानकारी दिए ।

हिउँदे वर्षा नहुनु, बीउ प्रतिस्थापन दर न्यून हुनु र उन्नत प्रविधिको अभावले तोरीसहित अन्य तेलहन बालीको उत्पादनमा गिरावट आएको उनले बताए । किसानहरू तोरी बाहेक अन्य तेलहन बालीतर्फ आकर्षित हुन नसक्नु पनि उत्पादन घट्नुको प्रमुख कारण बनेको छ ।

नेपालगन्ज–२२ का अग्रणी किसान चक्र बुढाका अनुसार उत्पादनको यो निरन्तर गिरावट रोक्न उच्च उत्पादन दिने, तेलको मात्रा राम्रो हुने उन्नत जातका बीउ सहज रूपमा उपलब्ध गराइनुपर्छ । साथै सिँचाइ व्यवस्थापनमा सुधार, आधुनिक प्रविधिको प्रयोग र अन्य तेलहन बालीको महत्त्वबारे किसानलाई नियमित रूपमा सचेत गराउन आवश्यक छ ।

तेलहन उत्पादन घट्दै जानुका कारण तेलमा आयात निर्भरता बढ्ने र स्थानीय बजारमा मूल्यवृद्धिको जोखिम बढ्ने बुढाको भनाइ छ । त्यसैले बाँकेमा तेलहन बालीको खेती विस्तारका लागि स्थानीय तथा प्रदेश सरकारले विशेष कार्यक्रम ल्याई किसानलाई आवश्यक प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने उनीहरूको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्