
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजलाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ।
जितसँगै पोखराले ६ अङ्क जोड्दै तालिकाको पाँचौँ स्थानमा स्थान बनाएको छ भने ४ अङ्कमा सीमित चितवन छैटौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। दुवै टोली प्लेअफ पुग्न असफल भए।
खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखराका कप्तान कुशल भुर्तेलले प्लेअफमा पुग्न नसके पनि अन्तिम खेलमा जित दर्ता गर्न पाउँदा खुसी लागेको बताए।
उनले भने, “प्लेअफ पुग्न नसके पनि प्रतियोगिताको सुखद अन्त्य गर्न पाएका छौँ। गत वर्षको तुलनामा हाम्रो प्रदर्शन सुधारिएको छ।”
कप्तान भुर्तेलले प्रतियोगिता समग्रमा सफल भएको उल्लेख गर्दै विदेशी खेलाडीसँग अनुभव साटासाट गर्न पाउनु र पहिलो पटक फ्लडलाइटमा खेल्न पाउनु पनि आफ्नो लागि महत्वपूर्ण अनुभूति भएको बताए।
उता चितवनका कप्तान कुशल मल्लले टोलीको सबै पक्ष सन्तुलित हुन नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको बताए।
उनले भने, “कहिले ब्याटिङ चल्दा बलिङ चलेन, कहिले बलिङ चल्दा ब्याटिङ चलेन। यही असन्तुलन नै हारको मुख्य कारण बन्यो।”
विदेशी खेलाडीभन्दा नेपाली खेलाडीले अझ राम्रो प्रदर्शन गर्नुपर्ने भए पनि त्यसमा आफूहरू सफल हुन नसकेको उनको भनाइ थियो।





