जेनजी आन्दोलनले पुराना पार्टीलाई आत्मसमीक्षाको अवसर दिएको छ : प्रचण्ड



धनुषा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापना भए पनि जनताको जीवनस्तरमा अपेक्षित परिवर्तन नआएकै कारण जेनजी आन्दोलन उभिएको बताएका छन्। शनिबार जनकपुरधाममा आयोजित नेकपाको मधेस प्रदेशस्तरीय एकता सन्देश सभामा सम्बोधन गर्दै उनले जेनजी आन्दोलनले पुराना राजनीतिक दललाई आत्मसमीक्षा गर्ने अवसरसमेत प्रदान गरेको बताए।

जेनजी आन्दोलनपछिको समीक्षाबाट नयाँ ढङ्गले रुपान्तरण हुँदै मुलुकको विकासका लागि अघि बढ्ने संकल्पका साथ पार्टीहरूबिच बृहत् एकता गरिएको प्रचण्डको भनाइ थियो। उनले सम्पूर्ण जनताको एकताबाट मात्रै प्रतिगमन र प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै देशलाई अगाडि बढाउन सकिने उल्लेख गर्दै त्यसको नेतृत्व नेकपाले गर्ने दाबी गरे।

कार्यक्रममा नेकपाका सह–संयोजक माधवकुमार नेपालले हजारौँ युवाहरू पार्टीमा प्रवेश गरेको दाबी गर्दै पार्टी एकतापछि देशभर सकारात्मक सन्देश प्रवाह भएको बताए।

नेकपाले पार्टी एकताको सन्देश फैलाउने उद्देश्यले विभिन्न प्रदेशमा यस्ता सन्देश सभा आयोजना गर्दै आएको जनाएको छ। पार्टीका अनुसार आगामी दिनमा कर्णाली प्रदेश र काठमाडौंमा पनि एकता सन्देश सभाको आयोजना गरिनेछ।

प्रतिक्रिया दिनुहोस्