भक्तपुरमा योमरी उत्सव र खाना महोत्सव सम्पन्न



भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा शनिबार योमरी उत्सव, खाना महोत्सव, स्थानीय उत्पादनको प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

भक्तपुरको सूर्यमढीबाट नगरप्रमुख सुनिल प्रजापतिले शुभारम्भ गरेका योमरीका विभिन्न परिकारसहितको सांस्कृतिक र्‍याली नगरका विभिन्न क्षेत्र परिक्रमा गर्दै दत्तात्रय पुगेपछि महोत्सवमा परिणत भएको थियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेद्वारा उद्घाटन गरिएको एकदिने महोत्सवमा स्थानीय परिकारको स्वाद लिन स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य भीड लागेको थियो ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बिजुक्छेले भक्तपुर ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको सहर भएको उल्लेख गर्दै यहाँको सम्पदा, सांस्कृतिक नाचगान र परम्पराले पर्यटकलाई आकर्षित गरिरहेको बताए ।

नगरप्रमुख प्रजापतिले कला, संस्कृति, सम्पदा र स्थानीय परिकारलाई एउटै सूत्रमा बाँधेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस प्रकारका कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे । यस्ता महोत्सवले स्थानीय परिकार, कला र संस्कृतिको पहिचान स्थापित गर्नका साथै व्यावसायिक प्रवर्द्धनमा समेत टेवा पुग्ने उनले बताए ।

महोत्सवमा उपत्यकाका विभिन्न जिल्ला तथा विभिन्न स्थानबाट आन्तरिक पर्यटकको समेत ठूलो घुइँचो लागेको थियो । नगरपालिकाले दत्तात्रयलगायत स्थानमा योमरी प्रदर्शनी तथा सल्ला गणेश, क्वाठण्डौँ, सूर्यमढी, जेलाँलगायत स्थानमा खाना महोत्सव र स्थानीय उत्पादनको प्रदर्शनीको व्यवस्था गरेको थियो । महोत्सवमा योमरी, बारा, चटामरी, जुजु धौ, मःमःलगायत लोकप्रिय स्थानीय परिकारको स्वाद लिन सकिने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्