कमला पुल निर्माणका लागि स्थानीयबाट चन्दा सङ्कलन अभियान सुरु



सिरहा – १४ वर्षदेखि अधुरो रहेको हुलाकी सडकअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला पुल निर्माणका लागि स्थानीयहरूले चन्दा सङ्कलन अभियान सुरु गरेका छन्। सामाजिक अभियन्ता तथा पत्रकार रामरिझन यादवका अनुसार, आज पुलमा उपस्थित हुँदै अभियानका अगुवाहरूले औपचारिक रूपमा यस अभियानको सुरुआत गरेका छन्।

अभियन्ता यादवले बताएअनुसार, “१४ वर्षअघि काम सुरु भए पनि पटक–पटक म्याद थपिँदै आएको छ। विसं २०७८ असार १७ मा बाढीले पुलका दुई पिलर भासिएपछि समस्या झन् गहिरो भएको छ। पुल नबन्दा मधेशका लाखौँ नागरिकको यात्रा, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक गतिविधिमा गम्भीर असर परेको छ।”

उनले भने कि सरकारले १४ वर्षमा पनि पुल निर्माण गर्न नसकेपछि अब जनता आफैंले पहल गर्नुपर्ने अवस्था आएको छ। यही कारणले प्रतिकात्मक आन्दोलन सुरु गरिएको हो। केही दिनअघि पुल निरीक्षणका लागि आएका भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई जानकारी गराएर अभियानलाई औपचारिक रूपमा सुरु गरिएको यादवले बताए।

मन्त्री घिसिङले प्राथमिकतामा राखेर पुल निर्माणको प्रतिबद्धता व्यक्त गरे पनि अभियन्ताहरूको अनुसार ढुक्क हुने अवस्था भने छैन। करिब रु दुई अर्ब खर्च लाग्ने अनुमान गरिएको कमला पुल निर्माणका लागि धनुषा, सिरहा र सप्तरीका बासिन्दाबाट चन्दा सङ्कलन गरेर सरकारलाई सहयोग गर्ने योजना बनाइएको छ।

यस अभियानअन्तर्गत प्रतिपरिवार रु १० हजारका दरले चन्दा सङ्कलन गरिने, विष्णु महायज्ञ आयोजना गरिने, र संकलित अनुदान रकम प्रशासनमार्फत सरकारको कोषमा जम्मा गराइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्